|

काठमाडौं : साताको तेस्रो दिन पनि सेयर बजार राताम्य बनेको छ। सबै समूहका सूचक ओरालो लागेका छन्। नेप्से सूचक पनि ६९.०५ अंकले घटेर २९७५ बिन्दुमा झरेको छ।

मंगलबार २०० कम्पनीको सेयर मूल्य घटेर बजार राताम्य बनेको छ। यो सेयर बजारमा पछिल्लो ७० दिन यातकै सबैभन्दा ठूलो गिरावट हो। यस अघि गत असार ७ गते सेयर बजारमा ७१ अंकको गिरावट आएको थियो। उक्त दिन २९०५ बिन्दुमा रहेको नेप्से ७१ अंकले घटेर २८३४ बिन्दुमा झरेको थियो।

त्यसपछि सामान्य उतारचढाव आएपनि बजारमा ठूलो गिरावट आएको थिएन। मंगलबार भने बजार सुरु देखिनै ओरालो लागेको छ।  म्युचुअल फण्डसहित २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा २०० कम्पनीको सेयर मूल्य घटेको छ। मूल्य बढ्नेमा १४ वटा कम्पनी मात्रै रहेका छन्। कर्णाली विकास बैंकको सेयर मूल्य सर्वाधिक ७ प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै रूरू जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशत र हिमालयन ऊर्जा विकासको सेयर मूल्य ६ प्रतिशतले घटेको छ।

सबै उपसमूह रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह ४१५ अंकले घटेको छ। निर्जीवन बीमा समूह ३२२ अंक, विकास बैंक समूह २११ अंक, उत्पादन समूह १७६ अंक, माइक्रोफाइनान्स १६८ अंक, जलविद्युत समूह १२५ अंक, फाइनान्स समूह ११६ अंक र व्यापार समूह १०६ अंकले घटेको छ।

अन्य उपसमूह पनि २३ देखि ६४ अंक सम्म घटेका छन्। लगानी र म्युचअल फण्ड मात्रै सामान्य घटेका छन्। आज २२७ कम्पनीको दुई करोड ३१ लाख कित्ता सेयर १३ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक एक अर्ब एक करोड रुपैयाँको कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ४९ करोड, अपी पावरको २९ करोड ७८ लाख, नेपाल बैंकको २९ करोड ७४ लाख र गुडविल फाइनान्सको २९ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

केन्द्रीय बैंकको १२ करोड सीमा प्रकरणले सेयर बजार ओरालो लागेको बजारका जानकारहरू बताउछन्। मौद्रिक नीति तथा एकीकृत निर्देशनमार्फत एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिएको छ। साथै, नवीकरण गर्दा यो सीमाभित्र ल्याइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.