काठमाडौं : रामेछापका कृष्णराज तिम्सिनाले वि.स २०७२ मा ७ वटा मेसिनबाट थ्रेड गार्मेन्ट उद्योग सुरू गरेका थिए।
तर, ६ वर्षको अवधिमा उनले आफ्नो उद्योगलाई साढे चार सय मेसिनमा परिणत गरेका छन्। उनको उद्योगबाट अहिले दैनिक पाँच हजार पिस कपडा उत्पादन भइरहेको छ। उनले कपडा मात्र उत्पादन गरिरहेका छैनन् पाँच सय कर्मचारीलाई रोजगारी पनि दिएका छन्। जसमा पनि दुई सय महिला कर्मचारी कार्यरत रहेका छन्। 'महिला शसक्तीकरण र आत्मनिर्भर बन्न प्रेरित गर्न पनि महिलालाई पहिलो प्राथमिकतामा राखेको हुँ', उनी भन्छन्। गार्मेन्टले यतिबेला ४० वटा व्यवस्थापन टिम बनाएर काम गरिरहेको छ।
हाल ललितपुरको इमाडोलमा करिब १० रोपनी क्षेत्रफलमा उद्योग सञ्चालन गरिएको छ। तिम्सिनाले सुरुवातमा थ्रेड ब्रान्डबाट तयारी पोसाक बनाएर बेच्न थालेका थिए। अहिले उनको १० वटा ब्रान्डमा तयारी पोसाक बिक्री भइरहेको छ। के.टी जिन्स, कोफी, लिमिटेड एडिस न, अर्बन आउटफीटर्स, डीआरजे, सीएम र जेन्टलमान र राइज स्पोर्टस् लगायतका १० वटा ब्रान्ड उनको हो।
उनी विरासतबाट यस क्षेत्रमा आएका होइनन्। उनलाई समय, आँट र आफूभित्रको विश्वासले सफल उद्योगी बनाएको हो।
६२ सालमा रामेछापबाट काठमाडौं
एसएलसी उत्तिर्ण गरेपछि उनका लागि उच्च शिक्षाको अवसरको लागि रामेछापबाट उनी २०६२ मा काठमाडौं आएका थिए। घरबाट हिड्दा उनको खल्तीमा केवल ४ सय थियो।
परिवारको आर्थिक अवस्था सामान्य थियो। घर छोडेर काठमाडौ आएसँगै उनको संघर्षका दिन सुरू भए। सुन्धारामा कोठा लिएर बसेका तिम्सिना कोटेश्वर क्याम्पसमा पढ्थे। बिहानको क्याम्पस थियो। खल्तीमा गाडी भाडा तिर्न पनि मुश्किल हुन्थ्यो। त्यो अभावग्रस्त पल सम्झिदै कृष्ण भन्छन्,‘त्यो पैसाले खाजा खाएर हिँड्दै सुन्धारा जाने गर्थे।'
परिवारको आर्थिक अवस्थाले सधै घरबाट पैसा मागेर धान्न कठिन थियो। काठमाडौको रमझममा उनको अभावका दिन उस्तै थिए। देखेर उनले पढाइसँगै काम पनि सुरू गरे।
१६ वर्षको उमेरमै खिचापोखरीको एक कपडा पसलमा काम गर्न थाले। सो जागिरबाट आएको पैसाले आफ्नो खर्च धान्न सक्ने भएका थिए। त्यतिले मात्र जीवन धान्न नसकिने देखेर १२ कक्षा उत्तिर्ण गरेर रोजगारीको खोजीमा मलेसिया गए।
मलेसियामा १८ महिना
मलेसियामा रेमिटेन्स कम्पनीमा काम गरेर १८ महिनामा नेपाल फर्किए। विदेशमा श्रम गर्न जाने नेपालीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको देखे।
नेपालीले पाएको दुख देखेर नेपालमा नै केहि गर्नुपर्छ भन्ने अठोटका साथ नेपाल फर्किए । मलेसिया बसेर नेपाल फर्कदा उनले ७ लाख कमाएका थिए। सोहि लगानीबाट न्युरोडमा कपडा पसल सुरू गरे। कपडा पसलसँगै उनले चीनबाट आफैं कपडा आयात गर्न थाले। कपडा बनाउने मेसिन खरिद गरी आफ्नै घरमा मेसिन राखेर तयारी पोसाक बनाउन थाले।
कपडामा ‘मेड इन नेपाल’
नेपालमा यतिबेला चीन तथा भारतबाट तयारी कपडा ल्याएर बेच्ने उद्योगहरु प्रसस्त भेटिन्छन्। यसरी विदेशबाट तयारी कपडा ल्याएर बेच्ने उद्योगले सो कपडामा स्वदेशी ट्याग(मेड इन नेपाल) लेख्न रुचाउँदैनन्। तिम्सिनाले भने होम ग्रोन ब्राण्ड बनाएर तयारी पोसाक बेच्दै आएका छन्। चीनबाट कच्चा पदार्थ ल्याएर उद्योगमा तयार भएको कपडामा ‘मेड इन नेपाल’ लेख्दै आएका छन् । नेपालमा उत्पादित सामानलाई ब्राण्ड बनाउने उदेश्यले स्वदेशमै कपडा तयार पार्न थालेको तिम्सिनाले सुनाए।
‘मेड इन नेपाल’ भन्ने बितिकै नराम्रो हुन्छ। भन्ने मानसिकता कायमै छ। नेपाली सामान भन्ने बित्तिकै नाक खुम्च्याउने नराम्रो हुन्छ भन्ने भ्रम चिर्नका लागि पनि यसरी काम गर्दै आएको सुनाए।
नेपालमा उद्योग उत्पादन सञ्चालन गर्दा धेरै नेपालीले रोजगारी पाउने छन् भने अर्कातिर कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क पनि कम लाग्छ। नेपालमा उत्पादन गरेर नेपाली ब्राण्ड बनाउनका लागि यसरी काम गर्दै आएको उनले सुनाए।
नेपालमा बनाएर विदेशमा बनेको भनेर राख्नु गलत हो। त्यसैले हामीले मेड इन नेपाल भनेर लेबल लगाउँछौं,’ तिम्सिनाले भने, ‘हामीले आफ्नै ब्राण्ड नेम समेत राखेका छौं। उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं।’
प्रहरी,नेपाली सेनाका पोसाकपनि उत्पादन
गार्मेन्टले जाडो–गर्मी, चाडपर्वलाई लक्षित गरि नयाँ नयाँ डिजाइनमा पोसाक उत्पादन गर्छ। नेपाल प्रहरी,नेपाली सेनाका पोसाकसहित अस्पतालहरुबाट र आविस्कार केन्द्रबाट अर्डर आउने मास्क र पीपीई सेट पनि बनाउँदै आएको छ। गार्मेन्टमा दैनिक ३ हजारदेखि ५ हजार पिस तयारी पोसाक उत्पादन हुने गरेको छ। कुनै समयमा दैनिक २० हजार वटा सम्मको माग हुन्छ भने कुनै समय एक पिस पनि बजारमा नजाने उनले भने। एउटा डिजाइनको एक पटकमा एक हजारदेखि १२ सय पिस बन्ने गरेको छ। गार्मेन्टले आफैं बिभिन्न डिजाइन तयार गरी जेन्सका पोसाक उत्पादन गर्दै आएको छ।
स्वदेशी उत्पादनप्रति लगाव बढेपछि आयात घट्यो
कोरोना संक्रमणको महामारी सुरू भएयता तयारी पोसाक आयातकर्ता व्यवसायीहरु चीन जान पाएका छैनन्। चिनियाँ उद्योगहरूले कच्चा पदार्थका नमुना कुरियर र कार्गोमार्फत पठाउने गरेका छन्। त्यही हेरेर कस्तो कपडा, कति परिमाणमा आयात गर्ने भन्ने तय भइरहेको छ।
थ्रेडका उत्पादन हाल ९० प्रतिशत थोक बिक्रेताहरूले खरिद गर्दै आएका छन्। गत वर्षदेखि व्यवसायीहरुले स्वदेशी तयारी पोसाक बिक्री बढाएका छन्। स्वदेशी उद्योगका उत्पादन बजारले मन पराउन थालेपछि तयारी पोसाकको आयात घटेको छ।
बजारको माग र उपभोक्ताले खोज्ने नयाँ नयाँ फेसनलाई मध्यनजर गर्दै थ्रेडमा पुरानो डिजाइन मोडिफाइ हुन्छ। हाल ८० भन्दा बढी भेराइटिका उत्पादन भइरहेको छ। मिक्स भेराइटीमा लुगाहरु बनाएर बजारमा पठाउने गरिएको छ। व्यवसायीको माग अनुसारको डिजाइन र मूल्यका पोसाक उत्पादन हुन्छ। सस्तो खोज्नेको लागि सस्तो र राम्रो खोज्नेका लागि त्यही अनुसारको तयार हुन्छ। तयारी पोसाकको माग उपत्यकाबाहिर पूर्व र मध्यपश्चिममा बढिरहेको छ। जुन काम गर्दा पनि निरन्तरता दियो भने अवस्य सफल भइन्छ। उनले भने,‘भएन भनेर बीचमा नै छोड्यो भने सफल उद्योगी बन्न सकिँदैन। ’
तस्वीर : शिला तिम्सिना
तपाईंको ईमेल गोप्य राखिनेछ ।