|

काठमाडौं : साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ। कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा झरेको छ।

आइतबार बजार खुल्नेवित्तिकै नेप्से तीव्र गतिले ओरालो लागेको थियो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो। त्यसपछि खुलेको बजार केही सम्हालियो। तर, नेप्सेको घट्ने क्रम रोकिएन।

अन्ततः १ सय भन्दा धेरै अंकले नेप्से ऋणात्मक भएर बन्द भएको छ। आज १ लाख २९ हजार कारोबारबाट २ सय २३ कम्पनीका २ करोड ३० लाख ७९ हजार कित्ता सेयर ११ अर्ब २४ करोड रुपैयाँमा कारोबार भयो। 

आज बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र ब्यापार समूह २१६ अंकले घटेका छन्।

यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ। यसको मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ। यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ।

ना​रायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानाकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावर, रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय उर्जा विकास, बेष्ट फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रो, एभरेष्ट इन्स्योरेन्स संस्थापक, पाँचथर पावर, दिव्यश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपि पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य करिब १० प्रतिशतले नै घटेको छ। 

 

गभर्नर अधिकारीको राजीनामा माग

मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। उनीहरुले राष्ट्र बैंकले आज दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ताले राष्ट्र बैंक घेराउ गर्ने चेतावनी पनि दिएका छन्।

सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन्।

सोही संघर्ष समितिले आज १६ बुँदे विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीको राजीनामा मागेको हो। राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो।

यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्। यसअधि सेयर बजारमा यस्तो सीमा तोकिएको थिएन। मौद्रिक नीतिमा यो व्यवस्था गरिएपछि बजार लगातार घटिरहेको छ।

विज्ञप्तिको पहिलो बुँदामै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ। मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहारी गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा लगाएर समग्र पुँजी बजारको विकासको बाधक बनेकोले यो व्यवस्था तुरुन्त खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ।

यसैगरी संघर्ष समिति संयोजक ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिएर राष्ट्र बैंक घेर्ने चेतावनी पनि दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.