|

काठमाडौं :  काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ। 

नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो।

४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शैयाको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए। 

‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपचारका लागि मूलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा.शर्माले भने, ‘यसले नवजात शिशु र वालवालिकाहरुको उपचारमा निकै सहज हुनेछ।’

उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेसिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्शी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ। 

यी दुबै मेसिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका वालरोग बिभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दावी छ। उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउँन सकिन्छ।

केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र बाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन्। उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआइसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यत्ती ठूलो एनआइसीयू नेपालमा अन्त छैन। यसले नवजात शिशु तथा बाल मृत्यदर घटाउन सघाउ पुर्याउँछ।’

केएमसीले यसअघि २५ शैयाको नवजात शिशु सघन उपचार कक्ष र ५ शैयाको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो। शैया बिस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालवालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.