|

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण बन्द रहेका कास्कीको पोखरा महानगरपालिकाका सामुदायिक र निजीसहित सबै खालका विद्यालयहरू असोज एक गतेदेखि भौतिक भौतिक उपस्थितिमा सञ्चालनमा आउने भएका छन्।

पोखरा महानगरपालिकाको कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विद्यालय सञ्चालन गर्न वा अवलम्बन गर्न सकिने मोडालिटीको बारेमा बिद्यालयहरुलाई भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

पोखरा महानगरपालिका नगर शिक्षा समितिको गत भदौ २८ मा बसेको बैठकमा भएको निर्णयअनुसार सम्पूर्ण विद्यालय, पूर्व-प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्रले कोभिड–१९ स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्य ढाँचा–२०७७ मा उल्लेखित मापदण्ड तथा सूचनामा तोकिएका मोडालिटीअनुरूप कक्षा सञ्चालन गर्न भनिएको छ। तर विद्यालय सञ्चालन गर्दा कार्य योजना बनाएर विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गराई शिक्षा महाशाखामा समेत त्यसको प्रति पेस गर्न भनिएको छ।

सूचनामा विद्यालय सञ्चालन गर्नु पूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालयलाई पूर्ण-रूपमा निर्मलीकरण गर्नुपर्ने, भौतिक अवस्था र विद्यार्थी सङ्ख्याको आधारमा एकै सिफ्ट वा फरक– फरक सिफ्टमा सञ्चालन गर्न सकिने, सिफ्टमा जानुपर्ने भएमा तल्लो कक्षाका विद्यार्थीहरूलाई दिउसोमा बोलाउनुपर्ने, भौतिक दूरी कायम गर्दा एकै दिनमा नसके फरक–फरक दिनमा विद्यार्थी बोलाउने, विद्यार्थीको लागि सेनीटाइजर, मास्क, साबुन पानी लगायतको पर्याप्त प्रबन्ध गर्नुपर्ने भनिएको छ।

यस्तै, स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या देखा परेमा अविलम्ब नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी त्यसको जानकारी वडा कार्यालयमा पनि दिनुपर्ने, विद्यालय खुलाए पनि प्रार्थना, खेलकुद लगायतका भिडभाड हुने अतिरिक्त क्रियाकलापहरू सञ्चालन नगर्ने र विद्यालयमा प्रयोग भएको मोडिलाटी, सिफ्ट र स्वास्थ्य मापदण्डको नियमका बारेमा खुल्ने गरी तथ्याङ्क राख्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.