काठमाडौं : काठमाडौं महानगरपालिकाले बजेट छुट्याएपछि बन्द भएको नागेंचा नाच सञ्चालन आएको छ। मंगलबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामग्री गुठियारहरूलाई दिएर नाच शुभारम्भ भएको हो।
आर्थिक अभावका कारण २०७० सालदेखि नागेंचा प्याखँ (नाच) रोकिएको थियो। अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिएको छ। हरेक वर्ष यँया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ।
चावहिल स्तूप नजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो। यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ। नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइने छ।
प्याखँ पुनः सञ्चालन शुरुवात अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख शाक्यले आर्थिक अभाव भएर मौलिक र परम्परागत कुनै पनि सांस्कृतिक चलन नरोकिने बताए।
उनले भने,‘गुठी गहनाका धार्मिक सांस्कृतिक काम नरोकिउन् भनेर हामीले २ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ,बाजा संरक्षण र बाजा गुरुहरुको प्रोत्साहनका लागि राज्यको तर्फबाट लगानी बढाएका छौँ, गुठीयारहरुसँग समन्वय भएका सबै ठाउँमा हामी पुगेका छौँ।’
शाक्यका अनुसार यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो। यसका कचहरीले एक लाख रुपैया दिने गर्थ्याै। त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो।
महानगरले गएको आर्थिक बर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो। जसमध्ये ६ लाख रुपैयाँ निकासा भइसकेको छ। यस बर्षका लागि ५ लाख रुपैया छुट्याइएको उनले बताए।
कसरी नाचिन्छ नाच ?
नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले महानगरले नाचलाई पुनर्जीवन दिएको बताए। उनका अनुसार शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ। शिव र पार्वतीको प्रेमिल क्रियाकलाप भइरहँदा बिचमा पार्वती हराउँछिन्।
त्यसपछि शिवले पार्वतीलाई खोज्न थाल्छन्। पार्वती खोज्न सघाउनेलाई आफूसँग भएका गरगहना दिन थाल्छन्। ४५ मिनेटदेखि १ घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ। संयोगान्त कथामा नाच समापन हुन्छ।
यो बर्ष महादेवको भूमिकामा रोनी शाक्य र सुप्लप शाक्य र पार्वतीको भूमिकामा आयुश डंगोल र उमित वैद्य रहेका छन। नाचका प्रशिक्षक रुपेश शाक्यका अनुसार यो नाचमा पार्वतीको भूमिकामा पनि बालकहरुलाई सहभागी गराइन्छ। यो बर्ष पार्वतीको भूमिकामा रहेका आयुश ९ बर्षकी छिन। नाचको प्रशिक्षण रुपेशसँगै कृष्ण, सचिन र निरेश शाक्यले गरेका छन्।
परम्परागत गायन र वाद्य तालमा यो नाच नाचिन्छ। चो ताल, प्रताल र जाति नाचका मुख्य ताल हुन्। यसको गायकीमा खीँ, धा, नायखिँ, ता, छुस्या, भुस्या र छ्वालीमाली बाजा बजाइन्छ।
शिवको भूमिकामा नाच्नेले मखुन्डो लगाउँछन् भने पार्वतीको भूमिकामा हुनेले मुकुट लगाउँछन्। शिवको सरीरको माथिल्लो भागमा खुल्ला हुन्छ। सुरुवाल र कमरमा पेटी लगाउँछन्।
जय बागेश्वरीले लगाएकोजस्तो घाँटीबाट दुईतिर झुण्ड्याएर सिक्री लगाउँछन्। पार्वतीले भने माथि चोलो कमरमा पेटी लगाएको हुन्छ र उनको माला भने एकातर्फ मात्र फर्किएको हुने प्रशिक्षक शाक्यले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।