|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ, तिहार र छठ पर्वको लागि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेबाट सञ्चालनमा ल्याइएकाे उक्त पसल छठ पर्वसम्म सञ्चालनमा आउने छ।

लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाका अनुसार देशभर ३९ जिल्लाको ४३ स्थानबाट पसल सञ्चालनमा छन्। जसमा काठमाडौं उपत्यकाभित्र थापाथली,सूर्यविनायक,नख्खु र रामशाहपथ सञ्चालन भइरहेको छ।

उनले भनिन्, ‘पर्वको बेला उपभोक्तालाई सहज होस भनेर यस्तो पसल सञ्चालनमा ल्याएका हौँ, सबै वस्तु गुणस्तरीय नै रहने छन्। क्वीन्टलका क्वीन्टल चामल ल्याउनुपर्छ,त्यसमा चाहिँ कुनै-कुनै नराम्रो होला, नभए चामल पनि राम्रै हो।’

५ रुपैयाँदेखि १० रुपैयाँ सम्म छुट

लिमिटेडले साविकको मूल्यभन्दा प्रतिकेजी पाँच रुपैयाँदेखि १० रुपैयाँ सम्मको छुट दिएको छ। प्रादेशिक कार्यालय थापाथलीका प्रमुख थापाका अनुसार अरुवा मकवानपुर चामलको साबिक मूल्य प्रतिकेजी ५० रुपैयाँ छ।

हालको लागि पाँच रुपैयाँ घटाएर प्रति केजी ४५ रुपैयाँ तोकिएको छ। ब्राउन चामल, साबिक मुल्य प्रतिकेजी ६० रुपैयाँ छ। हालको लागि पाँच रुपैयाँ घटाएर प्रति केजी ५५ रुपैयाँ तोकिएको छ।

कर्णाली सिमीको साबिक मूल्य प्रतिकेजी एक सय ९५ रुपैयाँ छ। अहिले १० रुपैया घटाएर प्रतिकेजी एक सय ८५ रुपैयाँ तोकिएको छ। दालमा पाँच रुपैयाँ प्रतिकेजी छुट दिइएको छ।

नि:शुल्क होम डेलिभरीकाे व्यवस्था

चामललगायत वस्तुहरूको निशुल्क होम डोलिभरीको पनि व्यवस्था छ। तर याे सुविधा बाहिरी चक्रपथ क्षेत्रमा भने छैन। ‘सकेसम्म त ग्राहकलाई पसलमै बोलाउँछौँ, इमर्जेन्सीमा परेको खण्डमा नि:शुल्क होम डेलिभरी गरिदिन्छौँ,’ थापाले भनिन्। उनका अनुसार होम हाेमडेलिभरीका लागि प्रादेशिक कार्यालयको वेबसाइटमा फर्म राखिएको छ। त्यसमा भरेपछि मात्रै सेवा पाइने छ। 

उनले खाद्य वस्तुहरूको लिन पाउने सीमा नतोकिएको जानकारी दिइन्। ‘कसले कति लिन पाउने भनी सिमा तोकेका छैनौँ,’थापाले भनिन,‘मुसुली दाल भने धेरै नै लाने गरेकाले अहिले एक व्यक्तिलाई दुई केजी दिने गरेका छौँ।'

साल्ट ट्रेडिङको ६ स्थानमा पसल 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि आउँदै गरेको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी असोज १ गतेबाटै उपत्यका लगायत बाहिर जिल्लामा सहुलियत मुल्य पसल सञ्चालनमा ल्याएको छ।

लिमिटेडका अधिकृत प्रज्वल  प्रधानका अनुसार बनेपा, सूर्यविनायक भक्तपुर,काेटेश्वर चोक, पाटनको जावलाखेलमा रहेको भोटो देखाउने ठाउँ, कालीमाटी र सतुंगल गरी ६ स्थानबाट पसल सञ्चालन गरेको छ।

बाहिर जिल्लाको नारायणघाट र धनगढी गरी दुई ठाउँमा पनि पसल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। प्रधानका अनुसार लिमिटेडले चामलबाहेक नुन, तेल, गेडागुडीलगायत वस्तु बिक्री वितरण गर्ने गर्छ।

‘नुनमा २ रुपैयाँ, खाने तेलमा पाँच रुपैयाँ, गेडागुडीमा ७ रुपैयाँ छुट दिने गरेका छौँ,’उनले भने। यि पसल छठ पर्वसम्म सञ्चालन हुने साल्ट ट्रेडिङ जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.