|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।

अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।

थापा र आचार्य  प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ।  

रबिना थापा, पहिलो महिला अध्यक्षको दाबी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्षका रूपमा अमेरिका निवासी रबिना थापाले उम्मेदवारी दिएकी छन्। वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी थापाले उम्मेदवारी घोषणा गरेकी हुन्।  

थापा २०१९ देखि २०२१ आइसीसीकी उपाध्यक्ष हुन्। उनी २०१५ देखि २०१७ अमेरिकाको एनसीसीकी उपाध्यक्ष समेत थिइन्। उनले लामो समयदेखि गैरआवासीय नेपालीको विषयमा काम गर्दै आएकी छन्।

विश्वभरी छरिएर रहेका नेपाली रहेका युवा तथा महिलाको साथ र समर्थनका लागि आफूले उम्मेदवारी दिएको थापाले बताइन्। गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तिकरण मुख्य चुनावी एजेण्डा  रहेको छ।

उनले भनिन्, ‘१८ वर्षको इतिहास हेर्दा अध्यक्ष पुरुषले मात्र हाँक्नु भएको छ, अब पालो महिला हो।’

विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने उनले बताइन्। सर्वोच्च अदालतले विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको छ तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।

थापाले भनिन्, ‘मतदानको अधिकार पूर्णरूपमा कार्यान्वयनमा ल्याउन मेरो मुख्य एजेण्डा हुनेछ। रोजगारीका लागि लाखौं नेपाली विदेशिएका छन्। तिनै श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलेको छ।  उनीहरूलाई मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन।’

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कृति, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडिरहन नागरिकताको विषयमा सबै गैरआवासीय नेपालीले आवाज उठाउनुपर्ने थापाको भनाइ छ।

नेपालमा लगानी गर्ने विषय सबै गैरआवासीय नेपालीको साझा नारा भएको बताइन्। विदेशमा हासिल गरेका सीपलाई व्यवसायीकरण गर्ने योजना थापाको रहेको छ। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

प्यानलसहित प्रतिस्पर्धामा आउँदै केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका दाबेदार बद्री केसी प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन्। जातीय  र राजनीतिक हिसाबले समावेशी समूह बनाएर उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन्।

रूस निवासी व्यवसायी डा. केसीले सन् २००३ देखि नै आफू एनआरएन अभियानमा लागेको बताएका छन्। चुनावमा आफूले समूह नै बनाएर गएको उनको भनाइ छ।  

केसी समूहबाट ६ जना उपाध्यक्षहरू (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरूको टुङ्गो लगाएको छ। उपाध्यक्षका उम्मेदवारहरूमा डा. हेमराज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षमा यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) ले उम्मेदवारी दिने भएका छन्।

महासचिवमा अमेरिकाका गौरीराज जोशीलाई अघि सार्ने भएको छ। एक महिला अनिवार्यसहित ४ जना सचिव पदका उम्मेदवारहरूमा रामशरण सिंखडा (बेलायत), चिरञ्जीवी घिमिरे (क्यानडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टीका) गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ। सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ। यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) ले  उम्मेदवारी दिएका छन्। केसी दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष रहेका छन्।

यस्तो छ चुनावी एजेण्डा

अध्यक्षको जिम्मेवारी लिई  एनआरएनएका अधुरा काम पूरा गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको केसीले बताए। नागरिकता सम्बन्धी समस्याको समाधान र वैदेशिक रोजगारका समस्या समाधान  पहिलो प्राथमिकतामा रहेको केसीले बताए।

दोस्रो पुस्ताका युवाहरूलाई एनआरएनमा आबद्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए। संस्थालाई संसारभर मर्यादित र प्रतिष्ठित बनाउन लाग्ने उनको भनाइ छ।

‘एक एनआरएन एक रोजगार अभियान’

बेलायत निवासी कुल आचार्यले गैरआवासीय नेपालीको समस्या समाधान गर्ने मुख्य एजेण्डासहित उम्मेदवारी घोषणा गरेका छन्।

आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरूका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र पैतृक सम्पत्तिको समस्या पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएनएको सदस्यता बढाएर पाँच लाख पुर्‍याउने उनले बताए।

विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरू सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए। केही समयदेखि संस्थाका बारेका नकारात्मक कुरा आइरहेका छन्। त्यसलाई समाधान गर्ने उनको भनाइ छ।

विश्वभरी छरिएर रहेका  गैरआवासीय नेपालीलाई परेका समस्याको समाधान गर्ने र उनीहरूले सिकेका सीप, ज्ञान र पुँजीलाई नेपालसँग जोड्ने लक्ष्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.