|
पूर्व–पश्चिम राजमार्गको पथरी–कानेपोखरी सडकखण्डमा केरा, निगुरो बेच्न बसेकी सृजना राई। तस्वीर : सुजता लिम्बू

विराटनगर :  मोरङ कानेपोखरीकी सृजना राईको दैनिकी पोलेको हरियो मकै बेचेरै बित्ने गर्छ। एकाबिहानै व्यापारका लागि सडक किनारमा आइपुग्छिन् उनी।

उनी हरियो मकै पोलेर ग्राहकको भोक मेटाउनेसँगै दैनिक एक हजारसम्म कमाउने गर्छिन्।

कोशी राजमार्गअन्तर्गत पथरी–कानेपोखरी सडकखण्डको दायाँबायाँ निगुरो, हरियो मकै र केरा बेच्ने सृजनाजस्ता धेरैको घर खर्च सडक व्यापारबाटै चल्ने गरेको छ।

दुई वर्षदेखि पोलेको हरियो मकै बेचेर परिवार पालिरहेकी सृजना पैसा कमाउन विदेश नै जानु नपर्ने बताउँछिन्। कुनै बेला आम्दानीको बाटो बन्द हुँदा उनलाई पनि विदेशिने रहर नपलाएको होइन।

तर, अरु साथीले सडकमा निगुरो, केरा, मकै बेचेर नै घरखर्च धानेको देखेपछि आफूले पनि व्यापार गर्ने योजना बनाएको उनले बताइन। आजभोलि त उनी सडक व्यापारमा आफ्नो मात्र नभएर परिवारको समेत भविष्य देख्छु भन्छिन्।

‘आम्दानीको स्रोत नहुँदा कहिलेकाहीँ विदेश जाऊँ जाऊँ जस्तो लाग्थ्यो। साथीभाइले सडकमा बेपार गरेर नै घर खर्च चलाएको सुनेर मैले पनि व्यापार थालें। कमाइ यसमा छ, मेहनत गरे आफ्नै देशमा राम्रै कमाइ हुने रहेछ,’ उनले भनिन्, ‘आजभोलि त सडकमा नै परिवारको समेत भविष्य देख्न थालेकी छु।’

उनको ६ जनाको परिवारको भरथेग पोलेको मकै बेचेर नै भइरहेको छ। एक घोगा पोलेको मकै ३० रूपैयाँमा बिक्री हुन्छ।

दैनिक कम्तिमा ३ सय घोगा बेच्ने गरेको उनले सुनाइन्। उनी भन्छिन्, ‘कहिलेकाहिं दिनमा ८ देखि १० हजार रूपैयाँसम्म मकै बिक्रि गर्छु।’ 

कानेपोखरी–५ जहदाकी इन्दिरा लिम्बूको ४ जनाको परिवारको गुजारा निगुरो बेचेर नै चलेको छ। निगुरोबाट दैनिक ५–८ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन्।

सडकमा आवतजावत गर्ने यात्रुलाई निगुरो बिक्री गरेर आउने पैसाबाट उनले आफ्नो सन्तानको भविष्य बनाउने सपना देख्ने गरेको उनले सुनाइन्। आफूले पढ्न नपाए पनि आफ्ना सन्तानलाई बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताइन्।

‘बाटोमा आउने जाने यात्रुले निगुरो किन्नु हुन्छ, त्यसैबाट आएको पैसाले घर खर्च चलाउँछु, छोराछोरीको भविष्य राम्रो होस् भनेर बोर्डिङ स्कुल पढाएकी छु,’ उनले भनिन्, ‘घरको काम सक्छु, बाँकी रहेको समयमा निगुरो बेच्छु। यसैबाट सुखदुःख पुगेको छ।'

सडक किनारमा पोलेको मकै, केरा, निगुरो बिक्रि गरेर परिवार धान्ने इन्दिरा र सृजनाजस्ता धेरैको परिवार धान्ने आम्दानीको स्रोत नै सडक व्यापार बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.