|

काठमाडौं : नेपाली सेनाले १३ वर्षमुनिका खेलाडी समावेश हुने (यु–१३) फुटबल युथ एकेडेमी मंगलबार स्थापना गरेको छ।

नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लबमातहत रहने यु–१३ युथ एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा स्थापना भएको हो।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालयमा खेलाडीलाई फुटबल हस्तान्तरण गरी सेनाको पहिलो युथ एकेडेमी सुरु भएको घोषणा गरे।

त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि १३ वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लबमातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरिएको हो।

एकेडेमी सुरु हुनुअघि मुलुकभरबाट पहिलो चरणमा १ सय ६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना खेलाडी छनोट गरिएको थियो।

उनीहरूलाई ३ विभागीय टोली (सेना, सशस्त्र र प्रहरी)मा १४/१४ जना पठाइएको छ। सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्ययनका लागि छात्रवृत्तिसमेत दिएको छ।

त्रिभुवन आर्मी क्लबले खेलाडी उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृष्ट १ सय ५० खेलाडी एकीकृत गराई तीमध्येबाट ११ खेलाडी छानेको थियो।

सेनाले १४ र पछि छानिएका ११ समेत गरी २५ युथलाई भदौ २७ देखि प्रशिक्षण दिइरहेको छ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले देशका ६० ठाउँमा खेल केन्द्र सञ्चालन गरिरहेको र तीमध्ये ४ वटामा सेनाले सहयोग गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.