|

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनमा सघाउन अनुरोध गरेका थिए।

मागको विषयमा निर्णय गर्नका लागि मंगलवार बसेको नगर कार्यपालिकाको बैठकबाट आन्दोलनरत शिक्षक र कर्मचारीसहित नगरपालिकाको कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूको तलब समेत वृद्धि गरिएको छ। नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार विद्यालय कर्मचारीहरूलाई संघ सरकारबाट १३ हजार ५०० रुपैयाँ आउनेमा नगरपालिकाबाट सात हजार रुपैयाँ थप गरी २० हजार ५००, बाल विकास केन्द्रमा कार्यरत शिक्षकलाई संघीय सरकारबाट आउने आठ हजार रुपैयाँमा ७ हजार ५०० रुपैयाँ थप गरी १५ हजार ५०० रुपैयाँ, मा.वि., नि.मा.वि. र प्रा.वि. तीनै तहका विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई संघ सरकारबाट आउने आठ हजारमा सात हजार रुपैयाँ थपेर १५ हजार रुपैयाँ दिने निर्णय भएको छ।

यस्तै‚ सामाजिक परिचालकहरूले संघीय सरकारबाट पाउँदै आएको १८ हजारमा थप एक हजार, आधारभूत स्वास्थ्य केन्द्र कार्यालय सहयोगीले पाउँदै आएको ११ हजारमा थप दुई हजार, सहरी स्वास्थ्य केन्द्र कार्यालय सहयोगीले पाउँदै आएको १४ हजारमा थप एक हजार, कुश्मा नगरपालिकाको कार्यालयमा कार्यरत सवारी चालकले पाउँदै आएको १२ हजारमा थप चार हजार र स्वास्थ्य चौकी सहयोगीले पाउँदै आएको १५ हजारमा थप तीन हजार रुपैयाँ थप गर्ने निर्णय पनि बैठकबाट भएको छ।

शिक्षा अधिकृत सुवेदीका अनुसार यसअगाडि दिइएको तलब निकासा कम भएको भए पनि आगामी निकासामा चालु आर्थिक वर्षको पहिलो महिना साउनबाट नै लागू हुने गरी तलब पठाइने छ। मंगलवार भएको बैठकबाट भएको निर्णयअनुसार थपिएको तलब दिँदा नगरपालिकालाई वार्षिक झण्डै डेढ करोड रुपैयाँ आवश्यक पर्छ।

अघिल्लो आर्थिक वर्षसम्म सङ्घीय सरकारले दिएको ६ हजार र नगरपालिकाले थपेको एक हजार गरी मासिक सात हजार रुपैयाँ पाउँदै आएको भए पनि यस पटकको निकासामा नगरपालिकाले थपेको एक हजार रुपैयाँ घटाएर ६ हजार नै दिएपछि इसिडी शिक्षक सहित विद्यालय कर्मचारीहरू आन्दोलित भएका थिए। आफूहरूको माग पूरा भएसँगै आन्दोलनका सबै कार्यक्रमहरू सकिएका ईसिडिमा कार्यरत शिक्षकहरूको समूह बाल संघर्षशील समिति पर्वतकी अध्यक्ष लक्ष्मी कुमारी शर्माले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.