‘नैतिकता नभएको मान्छेलाई कसरी कलाकार मान्न सकिन्छ?’
‘नैतिकता नभएको मान्छेलाई कसरी कलाकार मान्न सकिन्छ?’
पर्वत : स्याङ्जाको पुतली बजार नगरपालिका-१४ लामागेमा जन्मिएका रमेश बिजी लजालु स्वभावका छन्। उनी लोकगीत भनेपछि हुरुक्कै हुन्छन्। उनले बाल्यकालमा किताबका पाठ कम तर रेडियोमा बज्ने लोकगीत धेरै घोके। लोकगीतको कार्यक्रम भनेपछि कुनै न कुनै तरिकाले जोडिने उनै रमेश अहिले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा छन्।
लोकसंगीत नेपालीको जनजिब्रोको भाका भएका कारण हरेक नेपाली लोकगीत गुनगुनाउँछन्। लोकसंगीत क्षेत्रको अवस्था, विवादका श्रृंखला लगायतका प्रसंगबारे बिजीसँग थाहाखबरकर्मी संजय रेग्मीले कुराकानी गरेका छन्।
अध्यक्षज्यू, कलाकार बन्ने कसरी रहेछ?
कलाकार बन्ने त्यस्तो सूत्र भएको भए त चाहना भएका सबै कलाकार बन्ने थिए होला। तर, जीवनको एउटा समयमा कलाकार, नेता, अभिनेता बन्न मन लाग्ने रहेछ। कहिले चालक, कहिले आर्मी, कहिले शिक्षक हुन मन लाग्छ।
यी सबैमा पसेपछि सजिलै निस्कन सकिएला तर गीत संगीतमा पसेपछि निस्कने कुरा कठिन रहेछ। मेला महोत्सवमा स्टेज पाउँदा गाइन्छ तर गीत गाउँदैमा कलाकार भइहालिँदैन। कलाकार हुन क्षमता, साधना र प्रतिभा चाहिन्छ जुन रहरले पाइँदैन।
तर यहाँ रहरै रहरमा कलाकार बनेकाहरूको कमी छैन नि?
सेलिब्रेटीहरूलाई देखेपछि आफू पनि त्यस्तै बन्ने रहरमा यो क्षेत्रमा आएकाहरू धेरै हुनुहुन्छ। त्यसरी रहरमा आउनुभएका धेरै त बत्तीको पुतली बन्नुभएको छ। देखे जस्तो जिन्दगी यहाँभित्र पनि छैन। यसका लागि चाहिने साधना, प्रतिभा नभएरै पनि जबरजस्ती कलाकार बन्ने रहर धेरैलाई लागेको देखिन्छ।
एउटा सेलिब्रेटी हुनु र एउटा इन्टरटेनर हुनु फरक कुरा हो। हामी इन्टरटेनर हुने बित्तिकै आफूलाई सेलिब्रेटी सम्झिन्छौँ। कुनै माहोललाई रमाइलो बनाउनुको अर्थ सेलिब्रेटी हुनु होइन, किनकि करिब सबैजसो नेपालीले सामान्य लोकगीत गाउन त जानेकै हुन्छ। यो रमाइलोका लागि हो। सेलिब्रेटी हुन त भव्य क्षमता चाहिन्छ, चर्चित हुनु र लोकप्रिय हुनु त फरक कुरा हुन्।
यसमा लागि सक्नुभएकाहरूले के गर्ने त अब?
पहिले आफूभित्रको क्षमतालाई पहिचान गर्ने, त्यो क्षमतालाई परिष्कृत गर्दै जाँदा भविष्यमा राम्रो बन्ने देखियो भने बल्ल त्यसमा लाग्ने हो, भविष्य खोज्ने हो। जहाँ भविष्य नै छैन त्यहाँ भविष्य खोजेर त भेटिन्न।
विगतदेखि लागेको र अब आउँदै गरेका कलाकार कहीँ न कहीँ विक्षिप्त बन्नुपर्ने अवस्था देखिएको छ। क्षमता नभई रहरै रहरले यसभित्र पस्दा लगानी डुब्छ, समय बित्छ, दुःखले कमाएको पैसा जान्छ। पश्चतापभन्दा केही पनि हुँदैन। गाउन नजाने कुनै एउटा मात्रै वाद्य सामग्री बजाउन पूर्ण भएर आउनुपर्छ। एउटा विधामा पारंगत भएर आउनुपर्छ।
आजभोलि युट्युब र रोधी घरले ‘भल्गारिजम’लाई अलि बढी अँगालेको भन्ने गुनासोलाई के भन्नुहुन्छ?
युट्युबमा आउने छाडा दोहोरीलाई चासोका साथमा हरेका छौँ। जनमानसको गुनासो पनि आइरहेको छ। लोकगीत सुन्ने हाम्रो परिवेशले हो। अपाच्य शब्द आउँन साथ स्रोता/दर्शकको प्रतिक्रिया र विरोध आइहाल्छ। प्रतिष्ठानले गर्न मिल्ने त्यस्तो कारबाहीको कानुन त छैन, राज्यले हामीलाई त्यस्तो अख्तियारी पनि दिएको छैन। यति मात्रै हो कि मोटिभ गर्न सक्छौँ, नैतिक दबाब दिन सक्छौँ, उसलाई उसको नैतिकताको ख्याल गराउन सक्छौँ।
एउटा सच्चा स्रष्टा वा कलाकारका लागि उसको नैतिकताभन्दा ठूलो कानुन हुँदैन। त्यो कानुन मान्नु भनेको आफ्नो नैतिकता जोगाउनु हो। नैतिकता नभएको मान्छेलाई कसरी कलाकार मान्ने? कलाकार समाजको रोल मोडल हो, उसको हरेक शैलीलाई धेरैले पछ्याइरहेका हुन्छन्। आफै नैतिकता मिच्नेले समाजलाई के दिन्छ? आफू विवेकशील बनेर आत्मसाथ गर्नुपर्छ।
युट्युब रोधी घर कला र संस्कृतिको संरक्षण कि व्यापार?
यी दुवै कुरा छन्। लोकगीत बचाऔं भनेर होइन कि यो क्षेत्रलाई प्रयोग गरेर अलिकति व्यापार गरौँ, अलिकति पैसा कमाऔँ भनेर यता छिरेकाहरूबाट यस्तो भइरहेको छ। तर कतिपयले कला र संस्कृतिको संरक्षणका लागि काम गर्नुभएको छ, उहाँहरूलाई सम्मान छ। संस्कृतिबारे पिर नभएको, व्यापारिक मानसिकता भएका मान्छेबाट व्यापार भइरहेको छ। कलाकारलाई प्रयोग गरेर होस वा ऊ आफैँ युज भएर होस् उसलाई पैसा नै चाहिएको छ।
बोलाउनेले बोलाए पनि गाउनेले नगाइदिए के लाग्थ्यो त?
त्यही त! त्यस्ताबाट आफूहरू प्रयोग भएको कुरा कलाकारले पनि चिनेका छैनन् क्या! बिस्तारै कतिपयले गाइसकेपछि पछुतो मानेको देखिएको छ। बन्द कोठा र बाहिरी संसारबीच फरक छ भन्ने पछि थाहा हुन्छ कतिलाई। किशोरावस्थाका केटाकेटी बन्द कोठाभित्र बसेर गीत गाउँदा उसले आफ्नो नैतिकता बिर्सेको होला, तर त्यो त समाजमा जान्छ, अनि ऊ पछुताएको छ। कतिपय साथीहरू बैँसले उन्माद भएर जवानी पोखिरहनुभएको छ, बैँस पोख्ने पनि त तरिका हुन्छ। दोहोरीलाई सबैले माया गरेको देख्दा खुसी लाग्छ तर दोहोरीलाई फोहोरी बनाउँदा दुःख लाग्छ।
चलेकै दोहोरी भाकामा फोहोरी गीत, त्यो पनि बिनारोयल्टी? प्रतिष्ठानले केही गर्नु पर्दैन?
दुःखले गरेको सिर्जनालाई मनोरञ्जनका लागि प्रयोग गर्न पाइन्छ, तर त्यसलाई बेचेर खान पाइँदैन। तपाईं मेरो जग्गामा आएर खेल्न पाउनुहुन्छ, तर तपाईंको नाममा म लालपुर्जा दिन सक्दिनँ। त्यो भाका जन्माउने मान्छेलाई त पीडा हुन्छ। मेरो गीतलाई विवाह, भोजभतेर, समाज जहाँ आवश्यक हुन्छ बजाएर नाच्नुहोस् तर त्यही लय प्रयोग गरेर नयाँ शब्दमा युट्युबमा हालेर तपाईंले पैसा कमाउन त मिल्दैन नि।
युट्युबमा हाल्नेले पैसा कमाउने तर दुःखले लय बनाएको मान्छे भोकै मर्ने? युट्युबमा हाल्न रहरै लाग्छ भने आफैं सिर्जना गरौँ। कि त सच्चा स्रष्टालाई चित्त बुझाएर प्रयोग गरौँ, आर्थिक अधिकार लुटे पनि नैतिक अधिकार त दिऊँ न। नामसम्म पनि नलिँदा त दुःख लाग्छ मलाई। कानुन थाहा छैन भनेर मान्छे मार्न त पाइएन नि। थाहा नभएको सुध्रिनुपर्छ। यसका लागि गर्नुपर्ने प्रयास प्रतिष्ठानको तर्फबाट भइरहेको छ।
व्यक्तिगत कुरा पनि गरौं न, उमेरले ४० नजिक पुग्नै लाग्दा पनि घरजमको छाँटकाँट छैन त हजुर?
बुबा आमाको चाहना सरकारी जागिरे होस् भन्ने थियो तर यता लागेपछि यति रमाइलो भयो कि समय गएको पत्तै भएन। यतैको मोहले तान्यो, व्यक्तिगत जीवनलाई तिलाञ्जलि दिइयो। अहिलेसम्म अविवाहित हुनु भनेको जीवनको व्यवस्थापन नभएको हो। भन्नेले त किन गरेन? भन्लान्। तर म त गीतमा भुलेछु। अनि परिवारको जेठो छोरो भएकाले पनि परिवार व्यवस्थापन गर्नुपर्छ। ए यति वर्षको भएँ है भन्ने बेलामा झल्याँस्स हुन्छ।
लोकगीत मात्रै जीवन थिएन कि? मेरो अर्को जीवन पनि त छ भनेर कहिले काहीँ सम्झिरहेको हुन्छु। समय बितिहालेको, बरबाद भएको त केही छैन, ४० त पुगिहालेको छैन है.. हेहे। अब सुर कसे पनि हुन्छ, मेरो जीवनको निर्णायक बिन्दुमा अब जे होस पुग्दै छु भनौँ न।
अन्त्यमा, कोरोना महामारीले कलाकारलाई के प्रभाव पारेको छ?
यो पेन्डामिकमा थाहा भयो कि जीवन अड्याउन त अर्कै छुट्टै पाटो पनि केही चाहिने रहेछ। कलाकारिता त एउटा पाटो रहेछ। कलाकार बनेर स्टेजमा चढ्न पाएसी जागिरमा ध्यान दिइएको छैन, व्यवसायलाई वास्ता गरिएको छैन। स्टेज चढ्न नपाएको बेलामा भोक मेटाउने त जागिर व्यवसाय नै रहेछन्।
कलाकारिताको प्रयोग भिडभाडमा हुन्छ, भीड नै जम्मा हुन नपाएपछि हाम्रो पेसा त ठप्प भयो, तर भोक ठप्प भएर नबस्ने भएपछि भोकै मर्ने दिन आउँछ। कोभिडका कारण कलाकार त भोक भोकै छन्। प्रतिष्ठानले यही चेतना कलाकारहरूमा भर्नुपर्ने आवश्यकता देखिएको छ। अध्ययनसहित यो क्षेत्रमा आउनुपर्छ नत्र यहाँ छिरेपछि विक्षिप्त बनेर कुलतमा लाग्ने जोखिम हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।