|
पहिरो खसेको राप्ती लोकमार्गमा गुडिरहेका सवारीसाधन । तस्वीर : दीपक शर्मा

सल्यान : दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ। तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ।

राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ। अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन्।

कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले बताए। सडकको स्तरोन्नती नहुँदा जोखिम मोलेर गाडी चलाइरहेको उनको भनाइ छ।

पहिरो झरेका र सडक बगेका ठाउँमा कामचलाउ मर्मत गरी सवारी सञ्चालन गरेको उनले बताए। तर, दोहोरो आवागमनमा समस्या हुने गरेको उनले बताए।

उनले भने, ‘खाल्डाखुल्डी गनेर साध्य छैन, सडकमा खाल्डो हो कि खाल्डोमा सडक हो छुट्याउन गाह्रो छ।’

सल्यान सदरमुकाम खलंगाबाट ३ घण्टाको यात्रामा पुगिने दाङ तुलसीपुर जान आजभोलि ५ घण्टाभन्दा बढी लाग्ने अर्का बसचालक केशरबहादुर बुढाथोकीले बताए।

खाल्डाखुल्डीका कारण बढी समय लाग्ने, गाडी टुटफुट हुने र दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको उनको गुनासो छ। ‘मर्मतसम्भार टालटुले मात्र हुने, त्यो पनि स्तरीय नहुने भएकाले धेरै टिक्दै टिक्दैन,’ उनले भने।

सडक खन्ने जोड दिने तर खनेका सडकको मर्मतसम्भार र स्तरोन्नति गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दिलमाया वलीले गुनासो गरिन्।

'नयाँ सडक बनाउने तर खनेका सडकको मर्मत गर्न ध्यान नदिँदा राज्यको लगानीसमेत खेर गइरहेको छ,' उनले भनिन्।

वर्षाले क्षतविक्षत भएका सडक चाडपर्व आइसक्दासमेत मर्मत नभएको यात्रुहरूको भनाइ छ। सडक राम्रो नहुँदा बिरामी र वृद्धवृद्धालाई धेरै कठिनाइ हुने गरेको वलीले बताइन्।

बनाइएका सडकमा नियमित गाडी सञ्चालन गर्न पालिका र प्रदेशले सामान्य स्तरवृद्धि गरिरहेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। नियमित गाडी चलाउन बजेटको व्यवस्था गरिएको उनको भनाइ छ।

गाउँपालिकाको केन्द्रसम्म नियमित गाडी सञ्चालन गर्न सीमित बजेटका बाबजुद विगतदेखि नै लगानी गर्दै आइरहेको बताउँदै उनले चाडपर्वअघि नै मुख्य मुख्य सडक मर्मतसम्भार गरिसक्ने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.