|

धनगढी : धनगढीमा आयोजित प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनल खेलमा आज डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो।

उपाधिसँगै डोटीले पुरस्कार स्वरुप नगद एक लाखसहित ट्रफी पाएको छ। डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने कैलाली र कञ्चनपुरको भलिबल टोलीले समान रु २५/२५ हजारसहित ट्रफी पाएका छन्।

विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु घोषित भइ पुरस्कृत हुनुभयो। त्यसैगरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक घोषित भइ पुरस्कृत भएका छन्।

प्रतियोगिताका विजयी खेलाडीलाई सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह लगायतले पुरस्कार वितरण गरे।

खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका सबै नौ जिल्लाका भलिबल टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर तयार गरिने सुदूरपश्चिम प्रदेशको भलिबल टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै आगामी दिनमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी गराउने खेलकुद परिषद्ले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.