|

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।

गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रूपमा समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो दाबी कायमै रहेको जनाएको छ।

साढे तीन वर्षसम्म आफूहरुले प्रदेशमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने कांग्रेसको माग छ। गत शुक्रबार केन्द्रमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश १ र बागमतीमा समाजवादीलाई सरकारको नेतृत्व गर्न दिने निर्णय भएको समाचार बाहिरिएको थियो। तर, कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव नीमा लामाले भने हालसम्म प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा निर्णय नै नभएको दाबी गरेका छन्।

थाहाखबरसँग कुरा गर्दै लामाले भने, ‘हामीलाई अहिलेसम्म पार्टी र गठबन्धन कतैबाट पनि कसले नेतृत्व गर्ने भन्ने निर्णयको जानकारी आएको छैन। बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्छ, हाम्रो दाबी यथावत छ।’

आइतबार हेटौंडामा बसेको कांग्रेस संसदीय दलको बैठकले पनि बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने निर्णय गरेको छ। बैठकले सरकार गठनका लागि गठबन्धन दलसँग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भूमिका राजनैतिक संस्कारयुक्त रहेको र जनतालेसमेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेको सचिव लामाले जानकारी दिए। बागमती प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनमा रहेको चार दलमध्ये कांग्रेस र समाजवादी दुईवटा दलले दाबी गर्दै आएको छ।

समाजवादीका नेता पाण्डे र कांग्रेसका बानियाँले मुख्यमन्त्रीमा दाबी गर्दै आइरहेका छन्। तर, केन्द्रमा मन्त्री भागवण्डामा समाजवादीका अध्यक्ष माधव नेपाल असन्तुष्ट भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले प्रदेश सरकारको नेतृत्व समाजवादीलाई दिने प्रस्ताव गरेका दिए।

उनको प्रस्तावमा सबै सहमत भएर प्रदेश १ र बागमती प्रदेशमा समाजवादीले नेतृत्व गर्ने निर्णय भएको जनाइएको थियो। आज एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले संसदमा विश्वासको मत लिने तयारी गरिरहेकी छन्।

सरकार टिकाउन आवश्यक मत नपुग्ने भएकाले उनी नेतृत्वको सरकार विस्थापित हुने निश्चित छ। अष्टलक्ष्मी नेतृत्वको एमालेको सरकार विस्थापित हुने समय भइसक्दा पनि गठबन्धनले भने सर्वसम्मत रुपमा मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.