|

काठमाडौं : अहिले गाँउघर या शहरमा चंगा उडाउने चलन कम हुँदै गएको छ। जसका कारण शहर बजारमा पहिले किराना पसलदेखि तरकारी पसलसम्म पाइने चंगा अहिले केही सीमित पसलमा मात्र भेटिने गरेको छ। अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ।

केही संघ संस्थाले संस्कृति धान्ने भनी चंगा उडाउने कार्यक्रम राखे पनि व्यक्ति आफैँ नै स्वतः स्फूर्त ढंगले चंगा उडाउने भने अत्यन्त कम भएको धेरैको अनुभव छ। ‘पहिलेभन्दा चंगा उडाउनेको संख्या कम छ,’ ललितपुरको गोदावरी नगरपालिकाका ४५ वर्षीय दामोदर आचार्यले भने, ‘पहिले पहिले दशैँ लाग्नुभन्दा महिना दिन अघिदेखि नै आकाशमा चंगाको भिड हुन्थ्यो। पछिल्लो १० वर्षमा चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको छ।’

यद्यपि गत वर्षभन्दा यसपाली भने छिटफुट चंगा उडाएको भेटिएको बागडोलका गेहेन्द्र अर्ज्यालले बताए। उनले भने, ‘तुलनात्मक रुपमा विगत १० वर्षमा भने चंगाको प्रयोग घटेको छ।’

विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भए पनि नेपालमा भने दशैँ‚ तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ।  चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। गाउँघर र शहरमा पहिलोजस्तो खुला ठाउँ नहुनुले पनि पहिलेको भन्दा चंगा उडाउनेको संख्या घटेको गोकर्णेश्वर नगरपालिकाका सुमन भण्डारीको ठम्याइछ। ‘पहिला पहिला खाली जग्गा चौर थिए, चंगा उडाउन ठाउँ हुन्थ्यो, अहिले ठू–ठूला घर बनेका छन्,’ उनले भने‚ ‘पहिले खेल्ने साधन पनि अरु थिएन, अहिले धेरै अरु चिज छन्।’

लोककथा र किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ। चंगा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ। तस‚ दशैँभन्दा केही अगाडिदेखि चंगा उडाउने चलन रहेको बताइन्छ। करिब २० वर्ष अघिसम्म  गोदावरी नगरपालिका–१० न्यौपानेगाँउका रमेशचन्द्र न्यौपाने पनि चंगा उडाउँथे। विस्तारै उमेर बढ्दै गएपछि उनले चंगा उडाउन छाडेको उनले बताए।

‘हामी पहिला थुप्रै चंगा उडाउँथ्यौँ, धागोमा माडा लगाएर आकाशमा उडेका अरु चंगालाई काटिन्थ्यो,’ उनले पुराना दिन सम्झदै भने, ‘त्यो बेला चंगा उडाउने कम्पिडिसन नै चल्थ्यो। चंगा चेट, चंगा काट भन्ने जस्ता आवाजहरु धेरै सुनिन्थ्यो। आफू मात्र नभएर आफ्ना अरु साथीहरुलाई पनि बटुलेर लट्टाई पालैपालो अरुलाई पनि दिइन्थ्यो।’

घरको कौशी नभए पारि गाँउमा गएर चंगा उडाएको सम्झना फर्पिङका मधुसुधन अर्जेलको छ। ‘त्यत्तिबेला घरबाट उडाउन मिल्दैनथ्यो‚ पारि गाउँको खुला ठाउँबाट चंगा उडाइन्थ्यो। चंगामा पुच्छर हालिन्थ्यो, चंगामा धानको मसिनो नल समेत बाँधिन्थ्यो। पहिले कतै चंगा चेट भयो भने कुद्ने र कराउनेको संख्या धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले न त चंगा नै देखिन्छ, न त त्यस्ता आवाज नै विस्तारै यो अब लोप नै पो हुन्छ कि।’

अहिलेका बालबालिकाहरुको मोबाइल, कम्प्युटर, ल्यापटप तथा अन्य मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आकर्षण घटेको धेरैको बुझाइ छ। ‘अहिलेका मान्छेहरु खेलका लागि अन्य माध्यमहरुतर्फ आकर्षित छन्,’ बुटबल घर भई हाल ललितपुरको शंखमुलमा बस्दै आएका डोलराज पौडेल भन्छन्, ‘कम्प्युटर, मोबाइल गेम, घुमघाम तथा अन्य मनोरञ्जनका माध्यममा उनीहरु लागेका छन्। जसले गर्दा चंगा कम उड्छ।’

पहिलेको तुलनामा अहिले शहर बजारमा छ्याप्छ्याप्ती चंगा, लट्टाई, धागो पाइँदैन। ‘पहिले त हरेक जसो पसलमा चंगा, लट्टाई धागो पाइन्थ्यो,’ संजय लामाले भने, ‘अहिले त जहाँ पायो त्यहीं पाइँदैन, विशेष स्थानमा मात्र चंगा बेच्न राखेको हुन्छ।’

कुसुन्तीका सन्दीप विकलाई चंगा उडाउन मन लागे पनि अग्लाअग्ला घरका कारण उडाउन कठिन भएको छ। ‘अगाडि अग्ला अग्ला घर छन्,’ उनले भने‚ ‘कसरी चंगा उडाउने?’

संस्कृतिविद् डा. गोविन्द टण्डन दशैँ तिहारमा पिङमा खेल्नु भनेको भुइँ छाड्ने संस्कृति भएको बताउँछन्। उनका अनुसार वर्षको एक पटक पिङ चढेर भुइँ छाडे मरेपछि स्वर्ग गइन्छ भन्ने धार्मिक विश्वास छ।

विभिन्न देशमा चंगा

केही व्यक्तिहरू चंगालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क कडीका रूपमा लिन्छन्। चीनमा चंगा उडाउनुलाई दुष्टात्मा धपाउने प्रयासका रूपमा लिइन्छ।

जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चंगा उडाउने चलन छ। त्यहाँका बाबुहरूले छोराका नाममा चंगा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन्। यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन्।

कोरियामा चंगाको उपयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ। कोरियालीहरू चान्द्र पात्रोअनुसार नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि ठूलो चंगामा ‘अशुभ जाओस्’ लेखेर आकाशमा उडाउँछन् र आकाशमा उडिरहेको चंगाको धागोलाई काटिदिन्छन्। उनीहरूको विश्वास छ– त्यो चंगासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजीक आउँछ।

श्रीलङ्का र थाइल्याण्डमा चंगाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चंगा उडाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.