|

धनकुटा : लिम्बू समुदायमा निशान नचाउँदै हर्षोल्लासका साथ मौलो काट्ने परम्परा कायम छ। तत्कालीन लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडादशैंको नवमीका दिन निशान निकाल्ने परम्परा छ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले ह बडादशैंको नवमीको दिन निशान निकाली मौलो काट्दै आएका छन। यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ। यसरी लिम्बूहरूसँग पुराना हात हतियारसहितको निशान हुनु भनेको परापूर्वकालदेखि उनीहरू लडाकु भएको प्रमाण रहेको डा. कमल तिगेलाको दाबी छ। तिगेलाका अनुसार परापूर्वकाल थिबोङ याक्थुङ कालमा पनि लिम्बूहरू लडाकु थिए, राज्य भएका थिए भन्ने गतिलो प्रमाण निशान हो।

उनले भने‚ ‘कुनै पनि समूहसँग निशान हुनु भनेको सेना हुनुपर्छ अनि मात्रै निशान हुन्छ। बेलायतमा समेत बेलायती सेनामा टनसन छ। त्यसलाई निशान भनिन्छ।’

लिम्बूहश्रसँग यस्ता ऐतिहासिक हात हतियारसहितको निशान हुनु भनेको यी निशानहरूले लिम्बू र लिम्बुवानको इतिहास बोकेको मदन पुरस्कार विजेता लेखक भगिराज ईङ्नाम बताउँछन्। लिम्बूहरूसँग भएको निशानलाई पनि विशेष पूजा आज दशैंको नवमीमा नै गर्न गोरखाका राजा शाहले लगाएको उनको भनाइ छ।

डा. तिगेला लिम्बू जातिको इतिहास बोकेको निशानबारे अनुसन्धान गरे यसबाट लिम्बू जातिको धेरै कुरा पाइने बताउँछन्। पहिले निशान गोरखा राजासँग १२ रुपैयाँ तिरेर पनि पाइन्थ्यो। लिम्बुवानमा रहेका यी निशानहरू धेरै वर्ष पहिलेको हो भन्ने १८३९ मा राजा राणाबहादुर शाहले खजुम लिम्बूहरूलाई दिएको लालमोहरले पुष्टि गर्दछ। २३८ वर्षअघि जारी गरिएको लालमोहरअनुसार लिम्बूहरूसँग धेरै पहिलेदेखि निशान थियो भन्ने पुष्टि गरेको छ।

कहाँ कहाँ निशान निकाल्ने र प्रदर्शन गरिन्छ?

महानवमीको दिन लिम्बुवानमा निशान निकाल्ने र प्रदर्शन गर्ने गरिएको छ। धनकुटाको छथर जोरपाटीको ताङखुवामा रहेको मौलो डाँडामा दुईवटा निशान विशेष ध्वजापतकाले सजाएर पूजा गरी प्रदर्शन गरिएको छ।

ताङखुवामा रहेको दुईवटा निशान त्यहाँ बसोवास गर्ने खजुम पारघरी लिम्बू र खजुम चोङबाङले आ-आफनो जिम्मामा मन्दिर बनाई हरेक वर्ष नौरथा सुरु भएदेखि विषेश पूजाआज गरी नवामीको दिन निशान सार्वजानिक गर्ने गरिएको हो। पारघरी खजुम लिम्बूहरूको यो पटक माइलो जिम्मा गेन्द्र सुब्बा जिम्माको पूजा गर्ने पालो परेको छथर जोरपाटी गाउपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए। छथर ताङखुवामा रहेको दुई वटा निशान संगै पुराना हात हतियारहरू पनि प्रदर्शन गरिएको हो।

यसैगरी अर्को निशान तेह्रथुमको छथर गाउपालिका अन्तर्गत सुदापमा पनि रहेको छ। त्यहाँ पनि खेवा जातिको लिम्बू सुब्बाहरूले विषेश पूजाआजा गरेका छन। नवामीको दिन निशान निकाल्ने र प्रदर्शन गर्ने गरिएको छ।

पाँचथरको याङवारकमा पनि त्यहाँका योङहाङ लिम्बूहरूले श्रीजंगा नामको निशान निकाल्ने गरेका छन्। अर्को सिरिकम्फु निशान पनि निकाल्ने गरिएको छ। पाँचथरको याङवारकमा विशेष निशान मेला लागेको छ। त्यहाँ निशान नचाइने तिलविक्रम योङहाङले बताए।

लिम्बुवानमा यी निशानहरू परापूर्वकालदेखि रहिआएको बताइन्छ। निशानसँगै रहेका लालमोहरहरू अध्यायन गर्दा सेनकालभन्दा अघिदेखिको रहेको जानकारहरू बताउँछन्। लिम्बुवानमा रहेका निशानहरू अरु जातिले पूजा नगर्ने र प्रदर्शन नगरेको बताइन्छ। लिम्बू सुब्बाहरूले मात्रै पूजाआज गर्ने गरेका छन्।

कहा कहा निशान?

पूर्वको मुख्य ऐतिहासिक गौडा मानिएको धनकुटामा नौवटा निशान रहेका छन्। ती नौवटा निशानलाई हरेक वर्षको दशैंको सप्तमी तिथि अर्थात् फूलपातीको दिन प्रदर्शन गरिएको छ। विभिन्न पुराना हात हतियार सहित धनकुटाको निशान देवी मन्दिरवाट विषेश पूजाआज गरी नेपाली सेना र प्रहरीको सलामी पछि धनकुटाको टुँडिखेलमा पुर्‍याएर पूजाआजा गर्ने गरिन्छ।

धनकुटामा रहेका नौवटा निशानमध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा, इन्द्रध्वज गणका ४ गरी जम्मा ९ वटा रहेका छन्। श्रीजंग पल्टन अहिले नेपालको रामेछाममा छ भने इन्द्रध्वज गण झापामा रहेको छ। यसरी पूर्वको लिम्बुवानमा हुने युद्धहरूमा आउँदा यी निशानहरू धनकुटा ल्याई पुर्‍याएको बताइन्छ।

यसैगरी धनकुटाकै छथर, पाँचथरका सुब्बाहरूसँग अझै पनि निशानहरू रहेका छन्। जसअनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ ताङखुवामा २ वटा निशान नगरा, हातहतियारसहितका छन्। यस्तै अर्को निशान लिम्बुवानकै छथर क्षेत्र अन्तर्गत तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पुराना हातहतियार र नगरासहितको निशान छ। सो निशान खेवा मादेन लिम्बुहरूसँग रहेको छ।

त्यसैगरी अर्को सोही गाउँपालिकाको वडा नम्बर ५ ओख्रेको निशान घरमा पनि छ। त्यहा पनि नगरा, पुराना हात हतियार अनि तोप सहितको निशान रहेको छ। यो निशान खेवा तुम्बा लिम्बूसँग छ। यस्तै अर्को निशान लिम्बुवानको पाँचथर थुम हालको पाँचथर जिल्लामा पनि छ। पाँचथरमा पनि योङहाङ लिम्बूहरूले हरेक वर्षको नवमीकै दिन प्रदर्शन गर्ने गर्दछन्। यहाँ भने निशान प्रदर्शन गरिनुका साथै नचाउने गरिन्छ।

वि.सं. १९४० सालमा चैनपुरवाट रणोद्धीपसिंह राणाको पालामा धनकुटा लिम्बुवान हेर्ने गौडा सरेपछि वि.सं. १९४२ सालदेखि निशानको पूजाआजा गर्न थालिएको बताइन्छ। विभिन्न शक्तिको रुपमा मानिने निशान पुर्वी लिम्बुवानमा करिव १५ वटा छन्। लिम्बुवानमा रहेका सवै निशानहरू श्रीजंग पल्टनका निशानहरू हुन् भन्ने गरिन्छ।

लिम्बूहरको होइन दशै

लिम्बुवानका लिम्बू बूढापाकाहरूका अनुसार पहिले लिम्बूहरूले दशैं मान्दैन थिए। लिम्बूहरू आफनो मौलिक चाड पर्वहरू मान्ने गर्दथे। वि.सं. १८३१ पछि लिम्बूहरूलाई दशैं मान्न लगाइएको विभिन्न लिम्बुवानमा पाइने पुराना कागजपत्रहरूमा उल्लेख छ। पूर्वमा वसोवास गर्ने किरात लिम्बूहरूले दशैं नमान्दा गोरखा राजावाट विभिन्न कारवाही हुने भएकोले दशैं पर्व लिम्बूहरूलाई जवरजस्ती मान्न लगाईएको पुराना कागजातमा उल्लेख गरेको पाइन्छ।

वि.सं. १८३१ सालमा गोरखाका शाह राजाले षड्यन्त्रपूर्वक लिम्बूहरूसँग सम्झौता गरी अरुण कोशी पूर्वको लिम्बुवान भूभाग माथि अधिकार जमाए। त्यसपछि लिम्बुवानका विभिन्न क्षेत्रहरूमा आफनो किल्ला निर्माण गर्न सुरु गर्‍यो। लिम्बुवान युद्ध गरेर जित्न नसकेपछि लिम्बुवानको जल, जंगल जमिन, जडिवुटी खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरूकै हो भनि झुक्याएर सम्झौता गरेको विभिन्न लिखतहरुपमा उल्लेख छ।

त्यसपछि विस्तारै लिम्बुवानमा गोरखाको शासन बढ्दै गएको इतिहास रहेको छ। यही क्रममा गोरखाले लिम्बुवानका लिम्बूहरूलाई दशैं मान्न लगाइएको जानकारहरु बताउँछन्। लिम्बूहरूलाई दशैं मनाउन लगाउँदा नमान्नेहरूलाई विषेश सुराकी गरी कारबाही गर्ने गरिन्थ्यो। अनिवार्य घरमा लिपपोत गरी दशैंमा मार हानेको चिनो लगाउनुपर्नै हुन्थ्यो। जसअनुसार घरका भित्ताहरूमा रगतको पैताला, र हातको पन्जाको छाप लगाउनुपर्ने उर्दी जारी गरी लिम्बूहरूलाई अनिवार्य दशैं मनाउन लगाइएको पुराना लेखोटहरूमा उल्लेख छन्।

वि.सं. १८४३ मा रणबहादुर शाहले लिम्बूहरूलाई दशैं अनिवार्य मान्नु भनी लालमोहर दिए। लालमोहर लिम्बुवानका लिम्बूहरूलाई दिएपछि वि.सं. १८४८ सालमा पूर्वमा वसोवास गर्ने लिम्बूहरूमा दशैं मान्ने नमान्ने विवाद नै भयो। वि.सं. १८४८ पछि लिम्बुवानका लिम्बूहरूलाई दशैं मान्न बाध्य बनाइयो। यदि दशैं नमाने लिम्बूहरूलाई सुभाङगी र किपट खोस्ने जस्ता कार्य शाह राजाहरूले गर्न थाले। विस्तारै लिम्बूहरूको परम्परागत चाडबाडभन्दा बढी दशैं मान्ने उर्दी जारी भयो।

वि.सं. १८४८ सालपछि लिम्बुवानका सुब्बा, कारबारी र जिम्मावालहरूले अनिवार्य नौ दुर्गा भवानीको पूजाआजा गर्नुपर्ने, दशैं मान्नका लागि घर लिपपोत गर्नुपर्ने र नयाँ लिपपोत गरेको घरको भित्तामा अनिवार्य वलि दिएको खसी वोका, परेवा, राँगा, सुगुरको रगतमा हात तथा पैताला डुवाई छाप हान्नुपर्ने उर्दी जारी भयो। दशैं सकिएपछि कात्तिक महिनामा लिम्बुवानमा वसोवास गर्ने लिम्बूहरूले दशैं माने की मानेन भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे। लिम्बुवानको गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरूले गरेको रिपोर्टिङको आधारमा लिम्बूहरू कारवाहीको भागिदार बन्नु पर्थ्यो।

दशैं नमान्दा मृत्यदण्ड

शाह राजाहरूले पूर्व लिम्बुवानमा बसोबास गर्नेहरूलाई अनिवार्य दशैं मान्नुपर्ने उर्दी जारी गरेपछि धनकुटाको आसपासमा वसोवास गर्ने आठपहरिया जातिहरूले दशैं नमान्दा दुई जनालाई मृत्युदण्ड दिइएको थियो। जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा दिइएको यो मृत्युदण्डमा आठपहरिया रामलिहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुण्डाएर मारिएको इतिहास रहेको छ।

आठपहरीया जातिहरू अहिले पनि दशैं नमनाउने र दशैँ आगन्तुक चाड भएको आठपहरिया समाजका महासचिब सुर्य आठपहरियाले बताए। उनीहरू वाली भित्रयाउने समयमा (कात्तिके पुर्णिमा) मा वाडाङमेट चाड मान्ने गर्दछन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.