|

रुकुम पूर्व : बैंकको पहुँच पुगेका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने अनिवार्य भए पनि रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले गरेको छैन।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरण पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेको छ। 

स्थानीय तहले सबै लाभग्राहीको खाता खोली सोही खातामा सामाजिक सुरक्षा भत्ताको रकम जम्मा गर्नुपर्ने हो। पुथाउत्तरगंगामा सिद्धार्थ बैंक पुगे पनि सबै स्थानमा बैंकको पहुँच नपुगेकाले कार्यान्वयन हुन सकेको छैन। 

भौगोलिक हिसाबले विकट रहेकोले हालसम्म पुगाउत्तरगंगाका १४ वटै वडामै सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमा जान नसकेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिइन्।

बैंकको पहुँचमा रहेका वडाहरू १, १०, ११, १२, १३ र १४ का लागि छिट्टै नै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छलफल भइरहेको उनले बताइन्।

पहिलो चरणमा बैंकको पहुँचमा रहेका वडाबाट सुरुवात गर्ने र क्रमशः अन्य वडामा पनि बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने शाहीको भनाइ छ। 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा समयमा भत्ता उपलब्ध नहुनेसँगै जनप्रतिनिधि र कर्मचारीलाई जोखिमलगायत समस्या भइरहेको छ।

बैंकिङ सेवा सुरु भए प्रत्येक चौमासिकमा स्थानीय सरकारले सम्बन्धित व्यक्तिका खातामा भत्ताको रकम जम्मा गरिदिने भएकोले समयमै र सहजै भत्ता पाउने सक्थे। 

९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भएका नागरिक, अतिअशक्तता प्रमाणित भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने र बालबालिकाकालाई भने स्थानीय तहले घरमै सेवा दिनुपर्ने भएको छ।

यसैगरी भौगौलिक विकटताका र अन्य कारणले तत्काल घरमा सेवा दिन नसकिने अवस्थामा भने लाभग्राही र उनका संरक्षकको संयुक्त हस्ताक्षरबाट चल्ने खाता खोल्नु पर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.