|

कञ्चनपुर : लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा बढेको पाइएको छ। चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ।

कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन्। ‘मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भने, ‘चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधन नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ। यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ।’

उनका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेका छन्। नगरपालिका क्षेत्रमा १५ देखि २५ वर्षका युवा लागूऔषधको कुलतमा फसेका छन्। जसको सङ्ख्या ७ सयभन्दा  बढी रहेको अनुमान छ। बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ता रहेका छन्।

रातका वेला चौराह, दोबाटो, पुल लगायतका क्षेत्रमा सामूहिक रूपमा बसेर लागूऔषध सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ। लागूऔषधका सेवनकर्ता र कारोबारीको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ।

‘लागूऔषध प्रयोकर्ताहरू र कारोबारीमाथि निगरानी राख्ने कार्य हुँदै आएको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो छ। यसका लागि नगरपालिकाले समेत सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ।’

नगरपालिकाका १२ वटै वडामा युवालाई लागूऔषधको कुलतबाट जोगाउन कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पुर्‍याउने उनको भनाइ छ। प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर समाजमा हुने अवाञ्छित गतिविधिमाथि नियन्त्रण गर्नका लागि चाडपर्व लक्षित संयुक्त गस्तीको कार्यलाई समेत अगाडि बढाएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहादुर साउदले लागूऔषधको प्रयोग न्यूनीकरण गर्नका लागि विद्यालयमै सचेतना कक्षा सञ्चालन गरी किशोर र युवालाई सजग गराउनुपर्ने बताए। ‘यसका लागि प्रहरी र जनप्रतिनिधिसँग मिलेर कार्य गर्न इच्छुक छौँ’, उनले भने, ‘युवाहरूलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न सकिँदैन। लागूऔषधविरुद्ध सबै सहकार्य गरी अगाडि बढौँ।’

झलारी पीपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रकुमार भण्डारीले लागूऔषधका प्रयोकर्ताका कारण चोरी, जबर्जस्ती पैसा उठाउने कार्यसँगै ज्यान मार्ने उद्योगसम्मका घटना भएका छन्। यसको न्यूनीकरणका लागि बेलैमा सोच्नु जरुरी रहेको बताए।

‘बजार क्षेत्रमा सिसिटिभी जडान गरिएका भए पनि पर्याप्त छैन’, उनले भने, ‘बत्तीको व्यवस्थासमेत भरपर्दो नहुँदा चोरी लगायतका घटनाबाट व्यवसायी पीडित हुनु परेको छ।’ उनका अनुसार चोरहरूले पिपी सेट लगाएर समेत चोरी गरेको पाइएको छ। नगर प्रमुख दिलबहादुर ऐरले लागूऔषधको बढ्दो प्रयोग न्यूनीकरण गर्नका लागि सचेतना अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए।

‘लागूऔषधका प्रयोगकर्तामा युवाहरूको संलग्नता बढी देखिन थालेकामा चिन्तित भएको छु’, उनले भने, ‘यो कार्यलाई निरुत्साहित गर्न सबैको सहयोगको खाँचो छ।’ भारतीय खुला सिमानाका कारण लागूऔषध भित्रिने गरेको उल्लेख गर्दै उनले लागूऔषधको कारोबारमा संलग्नहरूको पहिचान गरी कडा कारबाही गरिनुपर्ने बताए।

यसका लागि प्रहरीलाई समाजका सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ। लागूऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन्।

कतिपय लागूऔषध प्रयोगकर्ता स्वयं सीमापारिका बजारमा गएर लागुपदार्थ प्रयोग गर्ने र बोकेर समेत आउने गरेका छन्। लागूपदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिको संलग्नता रहेको पाइएको छ। लागूपदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोरकिशोरीदेखि कलेज पढ्ने युवालाई लतमा पारेर बिक्री गर्ने गरेका छन्।

‘कञ्चनपुरमा लागूपदार्थको प्रयोग बढ्दो रहेको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘लागूपदार्थको कारोबार गर्नेहरू ठूलो सङ्ख्यामा पक्राउ परिरहेका छन्।’ खुला सीमानाका कारण सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याउन सजिलो छ।

लागूपदार्थको खुला प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवा लागूऔषध प्रयोगमा फसेर बर्बाद हुने गरेका छन्। प्रहरीले लागूपदार्थ प्रयोग गर्ने र बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने गिरोहका मुख्य व्यक्तिलाई हालसम्म पक्राउ पर्न सकेका छैनन्।

लागूऔषधको कारोबारसम्बन्धी जानकार एक युवाले भने, ‘कारोबार गर्ने गिरोहका मुख्य व्यक्तिलाई पक्राउ नगरेसम्म भयावह रूपमा बढिरहेको लागूऔषधको प्रयोग कम हुने देखिँदैन।’

‘लागूपदार्थको बढ्दो प्रयोगले असुरक्षा र अपराध बढ्दै गएको पाइन्छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘लागूपदार्थ प्रयोगकर्ता आफ्नो लागेको लत पूरा गर्न लागूऔषध किन्ने पैसाका लागि जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन्।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.