|

धनकुटा : अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ फेदिमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलवार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोशी राजमार्गमा सडकमा पसेको थियो।

उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बालुवा तथा माटोसहितको बाढी आइरहेको छ। बाटो बगाएपछि अहिले सडक पुरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका सयौं गाडीहरू बाटोमा नै रोकिएका छन्।

सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभाबाट तराइ जाने तथा तराइबाट धनकुटासहित तेह्रथुम भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिदा सयौं यात्रु अलपत्र परेका छन्।

पानीको बहाव बढेका कारण सडक अझैं क्षति हुने सम्भावना रहेको राईले बताइन्। तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति नभएको उनले जानकारी दिइन्। जसको कारण चाडै सडक खुल्ने सम्भावना छैन। यस्तै हिले भोजपुर सडक पनि अवरुद्ध भएको छ।

हिले भोजपुर सडकखण्ड अन्तर्गत पाख्रिवास नगरपालिका–६ डिकुरेमा सडक अवरुद्ध बनेको हो। सडक माथिबाट लेदो माटोसहित ढुङ्गा निरन्तर बगिरहेको छन्।

बाटो खुलाउन प्रहरी  डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाको कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.