|
बाढी प्रभावित ढुङगाड क्षेत्र।

बैतडी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोले बैतडीमा पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री देउवाले सिगास गाउँपालिका–५ को ढुङगाड क्षेत्रको स्थलगत निरीक्षण गरेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढीपहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए।

ढुङगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १ सय ५० बिघा खेती गरेको जमिन बगरमा परिणत भएको थियो। यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरी पहिरोमा परेर ४ जनाको ज्यान गएको थियो। साथै यहाँका १ दर्जनभन्दा बढी घरमा पहिरोले क्षति पुर्‍याएपछि घरपरिवार विस्थापित भएका छन्।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।

उक्त टोलीले बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाको पनि निरीक्षण गर्ने कार्यक्रम छ। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा निरीक्षण गर्ने कार्यक्रम रहेको हो। टोली डोटी र बझाङपछि बैतडीको निरीक्षण गरेर डडेल्धुरा गएको छ।

हालै आएको बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा ३० जनाको ज्यान गएको थियो भने करौडौँको क्षति भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.