कुमाले भन्छन्, माटो नपाए पेसा बन्द हुन्छ
कुमाले भन्छन्, माटो नपाए पेसा बन्द हुन्छ
काठमाडौं : भक्तपुरको बोलाछेँ टोल (पोटरी स्क्वायर)। मंगलबार बिहान ती टोलमा पाला (दियो) खुत्रुके लगायत बनाइएका माटाका भाँडा सुकाइएका थिए। कुनै सुकिसकेका माटाका भाँडा सजाएर लहरै भुइँमा राखिएका थिए।
केही सञ्चारमाध्यमबीच माटाका भाँडाका तस्बिर खिच्न होडबाजी चलिरह्यो। कोही पर्यटक ती भाँडा हेरेर आनन्द लिइरहे। त्यसै वेला एक कुमालेले गुनासो पोखिन्, ‘फोटो मात्रै खिच्छन्, हाम्रो समस्या बुझ्दैनन्। माटो पाएका छैनौँ तर यी समस्या कसले बुझिदिने ?’
गुनासो पोख्ने व्यक्ति थिइन्‚ कुमाले मायादेवी प्रजापति। उनको पेसा नै माटोका भाँडाकुँडा बनाउने हो। तिहार नजिकिँदै छ। उनीजस्तै टोलका प्रजापति समुदायका मानिसहरू यतिखेर ‘पाला’ बनाउन व्यस्त छन्। त्योसँगै उनीहरूमा चिन्ता छ– अब माटो कसरी जुटाउने?
भनेजस्तै माटो जुटाउन सकेकी छैनन् मायादेवीले। उनी भन्छिन्, ‘हाम्रो पेसा नै यस्तै भाँडा बनाउने हो तर माटो नै जुटाउन सकिएको छैन।’ उनका अनुसार जस्तोसुकै माटोले भाँडा बन्दैन।
यसका लागि लचकदार कालो माटो चाहिन्छ। बस्ती बढ्दै र बन्दै गर्दा त्यस्तो माटो मासियो। ‘माटो ल्याउँदा एक ट्रक टिपको १० हजार रुपैयाँ तिर्ने गरेका थियौँ, जग्गा प्लटिङले अब त्यति माटाे वर्षकाे एकपटक पनि जुटाउन सक्दैनौँ’‚ उनले भनिन्।
भक्तपुर जुजु धौ, भादगाउँले टोपी, हाकु पतासी, माटोको भाँडाकुँडा र हस्तकला,काष्ठकला उत्पादन आदिको परिचय र मौलिकता बोकेको सहर हाे। ऐतिहासिक सम्पदाले झनै परिचित छ। तैपनि केन्द्र होस् या प्रदेश,स्थानीय सरकारले यी ऐतिहासिक कला वस्तु संरक्षण गर्न केही नगरेको उनको गुनासो छ।
‘हाम्रा लागि माटो व्यवस्थापन गर्ने सरकार नै भइदिएन’‚ मायादेवीले भनिन्, ‘मैले मात्रै पहल गरेर सकिने कुरा पनि होइन, अब यस्ता भाँडा बनाउने पेसा विस्तारै लोप हुँदै जाने देखिएको छ।’
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका लगायत अन्य नगरपालिकाले कुमालेको अवस्था के कस्तो छ? भनी केही बुझ्ने नगरेको उनले दुखेसो पोखिन्। उनका अनुसार पहिला नवदुर्गा भवानी र तलेजुलाई भाँडा चढाएबापत निःशुल्क माटो पाउँथे तर अहिले पाएका छैनन्।
हस्तकलाकाको काम गर्दै आएका विनोद प्रजापति पनि पछिल्लो समय माटोको निकै अभाव हुन थालेपछि भाँडाकुँडा बनाउन समस्या भएको बताउँछन्। उनका अनुसार भक्तपुरमा माटो नभएपछि ललितपुरबाट ल्याउनुपर्छ। अहिले त्यहाँ पनि पर्याप्त माटो छैन।
‘अहिले साँखु र दाङ जिल्लाबाट माटाे ल्याउँछौँ तर माटो नहुँदा सहज रूपमा ल्याउन सकेका छैनौँ। यसका लागि सरकारले पहल गरिदिनु पर्याे’‚ उनले माग गरे।
बाटो विस्तार,संरचना निर्माण लगायतले माटो मासिएको उनको बुझाइ छ।
अर्का कुमाले सर्जन प्रजापतिको पनि उही समस्या छ। माटो पाउन सकेका छैनन् अनि भनेजस्तै भाँडा बनाउन पाएका छैनन्। उनी भन्छन्, ‘पहिला उपत्यकाभित्र खाली देखिएका बस्ती भरिँदै गएका छन्, बस्ती बनाएपछि कहाँबाट माटो हुनु? अब त हाम्रो रोजीरोटी नै गुम्ने देखियो।’
व्यापार बढ्दै
कुमालेहरू माटोको अभाव झेलिरहँदा व्यापार व्यवसाय भने बढ्दै गएको छ। कोभिड-१९ का कारण गत वर्ष व्यापार नै हुन सकेको थिएन। ‘गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ। दशैँ अगाडिदेखि हालसम्म ३० हजारभन्दा बढीको भाँडाकुँडा बेचिसकेँ। गत वर्ष यतिको पनि व्यापार भएको थिएन’‚ विनोदले भने।
तिहार नजिकिँदै गर्दा अझै व्यापार हुने उनको अपेक्षा छ। उनका अनुसार तिहारका वेला सर्वसाधारण घरमा हाेस् या मठमन्दिरमा धेरै दियो बाल्छन्। त्यसैले यसबीच धेरैले माटोको दियो किन्ने गर्छन्। बाहिर देशका पर्यटकले पनि लाने गर्छन्।
उनले भने, ‘पालाको मूल्य सानाको चार रुपैयाँदेखि ४० रुपैयाँसम्मको छ, बनाउन सहज पनि छैन,सुकाउन पनि घाम लागेमा एक दिन नभए दुई दिन लाग्छ।’ कुमाले सर्जनले पनि गत वर्षभन्दा यो वर्ष परिस्थिति सहज भएकाले व्यापार बढ्दै गएको बताए।
‘मैले चाहिँ दियो, बुद्धको मूर्ति,धूपौरो लगायत वस्तु बनाएर बेच्छु’‚ उनले भने, ‘एउटा सामानकाे ३० देखि ४० रुपैयाँ मूल्य तोकेको छु।’ प्रशस्त माटो भए दैनिकल तीन सयवटासम्म धूपौरो बनाउन सकिने उनी बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।