म्याग्दी : मुस्ताङबाट यसपालीको दशैं तिहारमा ३५ करोड रूपैयाँ बराबरको च्याङ्ग्रा निकासी भएको छ। सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्याङ्ग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।
केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङ्ग्रा निकासी भएको जानकारी दिए।
‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङ्ग्रा बाहिरिएका छन्,’ उनले भने‚ ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजार रूपैयाँका दरले च्याङ्ग्रा बेचेका छन्।’ तिब्बतबाट भेडा-च्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा संख्यामा भेडा-च्याङ्ग्रा निकासी भएको हो।
अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडा-च्याङ्ग्रा निकासी हुँदै आएको थियो। निकासी भएका अधिकांश भेडा-च्याङ्ग्रा मुस्ताङकै हुन्। व्यापारीहरुले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ रूपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडा-च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो।
कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ। यो वर्ष तिब्बतबाट भेडा-च्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन्।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन्। जोमसोम पुगेर २०० च्याङ्ग्रा खरिद गरेका काठमाडौंका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँच देखि १० हजारसम्म बढी तिर्नु परेको बताए।
‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ,’ उनले भने‚ ‘खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङ्ग्रा बेच्न गाह्रो भयो।’ मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङ्ग्रा निकासी भएको हो।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडा-च्याङ्ग्राहरु बजारमा ल्याएका थिए। उच्च हिमाली भेगमा पालन गरिएका भेडा-च्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दशैं तथा तिहारजस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडा-च्याङ्ग्राको माग बढी हुने गर्दछ। च्याङ्ग्रालाई मासु खानका लागि योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ। मुस्ताङमा च्याङ्ग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।