|
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको भीड।

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकजना प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहदानीको काम भइरहेको छ।

कार्यालयमा दुईजना प्रशासकीय अधिकृतमध्ये ज्ञानकुमारी भुसाल तीजपछि बिदामा छन्। सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी पनि सरुवा भएपछि कात्तिक ४ गतेबाट प्रशासकीय अधिकृत उद्धव पन्थीले एक्लै नागरिकता र राहदानी प्रमाणितको काम गरिरहेका छन्।

चाडवाडपछि नागरिकता बनाउनेको भीड लाग्ने समयमा एकजना प्रमुख प्रशासकीय अधिकृत मात्रैलाई नागरिकता र राहदानीको काम थेग्न कठिन भएको छ। प्रशासनको सिस्टमले दैनिक ७० भन्दा बढी नागरिकता दिन मुस्किल पर्छ।

एउटा कम्प्युटरबाट बाहेक नागरिकता प्रिण्ट गर्न मिल्दैन। १५ दिनको अवधिमा सरदर दैनिक एक सयलाई नागरिकता दिएको पन्थीले बताए। कात्तिक महिनाको १६ गतेसम्म १ हजार ३३९ नयाँ नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाका अनुसार कात्तिक १ देखि १६ गतेसम्म ४ सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। त्यस्तै राहदानी सिफारिस द्रुत २ सय २६ र सामान्य ७ सय २४ गरेर ९ सय ५० गरिएको छ। १६ दिनमा ४ सय ४७ जनालाई राहदानी वितरण गरिएको छ।

राष्ट्रिय परिचयपत्र १ हजार १ सय ९४ र दलित, जनजातिको नाम थर प्रमाणित २ सय ५ जनाको गरिएको खरिदार थापाले जानकारी दिए। असोज महिनामा पनि १ हजार १ सय ८ जनाले नयाँ नागरिकता लिएका छन्। ४ सय ३३ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।

सामान्य र द्रुत गरेर ७ सय ८३ राहदानी सिफारिस गरिएको छ। १ हजार ४ सय ७ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् भने २८ नाबालक परिचयपत्र वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.