|

काठमाडौं : कोरोना महामारीले गर्दा थला परेको रंगमञ्च बिस्तारै पुरानै लयमा फर्कने प्रयासमा छ।

नेपाली नाट्य क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन देशभरका नाट्य समूह लागिपरेका छन्। 

यस्तैमा पोखराको गन्धर्व नाटकघरमा 'चरणदास चोर' नामक नाटक मञ्चन हुने भएको छ।

रेनेसा थिएटरको प्रस्तुति रहेको नाटक मंसिर १ देखि मञ्चन हुने भएको हो। 

भारतीय नाटककार, कवि तथा अभिनेता हबिब तनवीरको नाटक 'चरणदास चोर'लाई नेपालीमा अनुवाद गरेर नाटक मञ्चन गर्न लागिएको हो।

आशान्त शर्माले अनुवाद गरेको नाटकलाई निश्चल विमलले निर्देशन गरेका हुन्।

हबिबले सन् १९७५ ताका लेखेको नाटकमा चरणदास नामको एउटा चोरको कथा रहेको छ।

जो आफ्नो सिद्धान्तमा अडिग रहन्छ। उक्त नाटक हबिबले राजस्थानी लोक कथामा आधारित रहेर लेखेका हुन्।

श्याम बेनेगलको निर्देशनमा 'चरणदास चोर' फिल्म पनि बनिसकेको छ भने नेपाल, भारत, बंगलादेशका विभिन्न ठाउँमा फरक फरक भाषामा यो नाटक मञ्चन भइरहेको हुन्छ। 

आजको दिनमा पनि नेपाली समाजलाई सुहाउँदो भएकाले यो नाटक मञ्चन गर्न लागिएको निर्माण टोलीले जनाएको छ। 

चरणदास चोरले पोखरामा नाटकको माहोल पहिलेको जस्तो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा धेरैले गरेका छन्। 

शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाललगायत कलाकारको अभिनय रहेको नाटक मंसिर १४ गतेसम्म मञ्चन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.