|

पेकिङ : चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को उच्चस्तरीय बैठकले राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल र त्यसअघिका लागि मार्ग प्रशस्त गरेको छ।

पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण अधिवेशन कात्तिक २२ देखि २५ गते (नोभेम्बर ८ देखि ११ तारिख) मा पेकिङमा आयोजना गरिएको थियो। बैठकमा ऐतिहासिक प्रस्तावको समीक्षा गरी पारित गरिएको छ। सीसीपीको १ सय वर्षको इतिहासमा यो तेस्रो प्रस्ताव हो।

१४ पेजको विज्ञप्तिमा सीको नेतृत्व र पार्टीमा उनको हैसियतको प्रशंसा गरिएको छ। उनको दोस्रो कार्यकाल आगामी वर्ष पूरा हुँदै छ। उनी तेस्रो कार्यकाल पनि राष्ट्रपति हुनेछन्।

यो अधिवेशनमा पार्टीका करिब ४ सय वरिष्ठ नेता सहभागी थिए। उनीहरूले पाँच वर्षमा बोलाइने पार्टीको अधिवेशन आगामी वर्षको मध्यमा राख्न आग्रह गरेका छन्। उक्त बैठकले सीलाई तेस्रो कार्यकालको स्वीकृति दिनेछ।

६८ वर्षीय सीले सैन्य आयोगको संगतमा रहँदा सेनाको शक्ति पनि बुझे र आफूमा सैन्य गुण विकास गरे। उनका पिताले  सन १९६६-७६ को सांस्कृतिक क्रान्ति र १९८९ को थ्यानमन स्क्वायरको दमनको आलोचना गरेका थिए। उदारवादी विचार राखेको आरोपमा उनका पिताले माओको अत्याचार सहनु परेको थियो।

सीलाई पनि  १९६९ मा ६ वर्षसम्मका लागि विकट क्षेत्र सान्सीमा खेतमा काम गर्न पठाइएको थियो। यी घटनाबारे चुपचाप रहँदै सी दलमा अघि बढ्दै गए र उनले त्यहाँका किसानसँग सुमधुर सम्बन्ध बनाउँदै लोकप्रिय भए। पूर्ववर्ती राष्ट्रपति हु चिनथाओको कार्यकालमा उपराष्ट्रपति बन्न पुगे।

२०१६ मा सीलाई पार्टीको ‘केन्द्रीय नेता’ को दर्जा दिइएको थियो। माओपछि यो सम्मान पाउने उनी पहिला नेता हुन्।

चिनियाँ सत्ताका तीनवटै केन्द्र (सीसीपीका महासचिव, शक्तिशाली केन्द्रीय सैन्य आयोगका अध्यक्ष र राष्ट्रपति)मा सीको कब्जामा छन्।

चाइना नेइकेनका सम्पादक एडम नीले सीले आफूलाई चीनको नायकको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको बताए। यो प्रस्तावमार्फत उनले आफूलाई पार्टी र आधुनिक चीनको केन्द्रमा राखेको उनले चर्चा गरे। उनले भने‚ ‘सीले आफ्नो शक्ति देखाइरहेका छन्। यसले उनलाई सत्तासीन बनाउने हतियार हो।’

सिंगापुर नेशनल विश्वविद्यालयका डा.चोङ चा इयानले नवीनतम घटनाले सीलाई चीनका पूर्ववर्ती नेताभन्दा अलग देखाएको बताए।

उनले भने, ‘सीले जस्तो हु चिनथाओ र च्याङ चमिनले कहिल्यै पनि यति अधिकार केन्द्रित गरेनन्। यो सबै सीको व्यक्तिगत पहलमा भएको हो। उनी व्यक्ति नभए संस्थाको रूपमा देखिन थालेका छन्।’ बिहीबारको बैठकले सीलाई केन्द्रीय समिति र पार्टीमा ‘केन्द्र’ को दर्जा दिएको छ।

नियमअनुसार उनले पार्टी महासचिव पदबाट पाँच वर्षे दोस्रो कार्यकाल आगामी वर्ष समाप्त हुनासाथ पद छोड्नुपर्थ्यो। सीलाई राष्ट्रपति बनाइरहन २०१८ मा यो समयसीमा हटाइएको थियो। चीनको आर्थिक विकासको उपलब्धि दिलाउने रूपमा उनलाई चित्रण गरिन्छ।

सीले बढ्दो भ्रष्टाचार र गरिबीविरुद्ध निर्णायक काम गरेका छन्। चीनलाई विश्वमञ्चमा शक्तिशाली देशको रूपमा प्रस्तुत गर्न सफल भएको भन्दै सी चिनफिङ जनतामाझ लोकप्रिय पनि छन्।​

माओ र तङकै शैलीमा सत्तामा पकड

यो बैठक सीसीपीका महासचिव तथा राष्ट्रपति दुवैमा सी चिनफिङको राजनीतिक शक्ति मजबुत गराउन बोलाइएको थियो।

सीसीपीको नेतृत्वको आन्तरिक राजनीतिक गतिशीलताका बारेमा विवाद सार्वजनिक भएको छैन। यद्यपि विभिन्न टिप्पणीकारले गुट, नीति विभाजन र वरीयता, विगतका अनुभव र भावी दृष्टिकोणका बारेमा अनुमान गर्न थालेका छन्।

पार्टीमा सीको वर्तमान स्थिति पूर्वनेता माओ च तुङ र तङ स्याओ फिङभन्दा फरक छन्।

माओ र तङ दुवैसँग स्थापित राजनीतिक अधिकार थियो। सन् १९२७ देखि १९४० को दशकको शुरुआतसम्म माओ कैयौँ हिसाबले पार्टी नेतृत्वभन्दा बाहिर थिए। राष्ट्रिय राजनीतिक शक्ति हासिल गर्न र जापानसँग लड्न ग्रामीण आधारित, गुरिल्ला रणनीतिका प्रस्तावक थिए, जो अन्ततः सफल भएको थियो। यो नै १९४५ मा सीसीपीको राजनीतिक आधार बन्यो।

सीसीपीले सन् १९४९ मा चीन कब्जा गर्न यो रणनीति प्रयोग गरेका थिए। यसले माओलाई सर्वाधिकार दिएको थियो। यसमा तङ सहितका केही नेताको सहयोग थियो। यो अधिकार सांस्कृतिक क्रान्ति विकास गर्न प्रमुख योगदान बनेको थियो।

सन् १९६६ देखि १९७६ मा माओको मृत्यु हुँदासम्म ‘राजनीतिक त्रुटि’को मान्यता, तङको नेतृत्वमा पारित पार्टी इतिहासमा १९८१ को प्रस्तावको प्रमुख बिन्दु थियो।

तङ १९७० को दशकको अत्यमा चीनमा खुलापन र आर्थिक सुधार गर्न सक्षम भएका थिए। सांस्कृतिक क्रान्तिका वेला भने उनीमाथि अत्याचार भएको थियो।  

सी कति शक्तिशाली ?

सीसीपीको नेतृत्वमा अधिकांश सीका समर्थक छन्। उनले चीनलाई बाह्य शक्तिमा शक्तिशाली बनाए पनि माओ र तङ जति लोकप्रिय भने छैनन्। सीसँग माओ र तङको जति राजनीतिक अधिकार पनि छैन। चिनियाँ राष्ट्रपति र सीसीपीका महासचिवमा रूपमा सीलाई निकै सम्मान गरिन्छ। 

सीले देशव्यापी भ्रष्टाचार विरोधी अभियान सुरु गरे। उनले २०१७ मा भ्रष्टाचारमा मुछिएका २ लाख अधिकृतलाई कारबाही गरे। यसले पार्टीमा रहेका हजारौँ अधिकारीलाई विस्थापन गर्‍यो। सीले कानुनी शासनमा जोड दिए। उनले चिनियाँ संविधान पालना र चिनियाँ समाजवादलाई विकसित गर्न न्यायपालिकालाई अधिक व्यावसायिक बनाउन आह्वान गरे।

भ्रष्टाचारविरोधी अभियानले लोकप्रिय भएका सीले अन्तररष्ट्रिय सम्बन्धमा आफूलाई केन्द्रित गर्दै गए। हेगमा अन्तरराष्ट्रिय अदालतको फैसलाविपरीत पूरै दक्षिण चीन सागरमा आफ्नो सम्प्रभुतामा सीले दाबी गरिरहे। यसैगरी बीआरआई परियोजनालाई गति दिए। यसमार्फत पूर्वी एशिया‚ मध्य एशिया‚ युरोप‚ अफ्रिका र अमेरिकासम्म चिनियाँ प्रभाव विस्तार गर्न सफल भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.