|


म्यान्माको सेनाले वरिष्ठ नेतृ आङ साङ सू चीलाई जेल पठाउने तयारी गरेको छ। म्यान्माको सेनाले सू चीले सन् २०२० को चुनावका वेला सत्ताको दुरुपयोग गरी धाँधली गरेको आरोपमा अभियोग दर्ता गरेको छ।

उनलाई कैयौँ वर्ष कारावासको सजाय सुनाइने अनुमान गरिएको छ। गत साता सू चीकै दलका नेतालाई ९० र ७५ वर्ष जेल सजाय सुनाइएको थियो।

सू चीलाई चुनावमा धाँधली र अनधिकृत कारबाही गरेको आरोप लगाइएको छ। म्यान्माको सरकारी अखबार ग्लोबल न्यू लाइट अफ म्यान्माले उक्त जानकारी दिएको छ। पूर्वराष्ट्रपति विन मिन्त र निर्वाचन आयोगका अध्यक्ष सहित १५ अन्य अधिकारीलाई पनि उक्त अभियोग लगाइएको छ।

गत वर्ष माघमा सेनाले सत्ता कब्जा गरेपछि म्यान्मामा प्रदर्शन भइरहेका छन्। प्रदर्शनमा हजारभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन्। यसैगरी १० हजारभन्दा बढी व्यक्ति जेलमा छन्।​

तख्तापलटपछि सेनाले सू चीलाई हिरासतमा लिएको थियो। उनीविरुद्ध अवैध रूपमा वाकीटकी आयात गरेको, देशद्रोह र भ्रष्टाचार सहित कैयौँ आरोप लगाइएको छ। सेनाले उनीविरुद्ध कोरोना प्रतिबन्ध उल्लंघन गरी प्रचार गरेको भन्दै मुद्दा चलाएको थियो।

गत वर्षको कात्तिकमा भएको चुनावमा सू चीको नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)ले पूर्ण बहुमत हासिल गरेको थियो। त्यसलगत्तै सेनाले भ्रष्टाचार आरोपमा उनलाई बर्खास्त गरी सैन्य शासन लागू गरेको थियो।

संघीय निर्वाचन आयोगले एनएलडीलाई भंग गर्ने र आगामी निर्वाचनमा भाग लिन नपाउने संकेत गरेको छ। निर्वाचन आयोगका प्रमुख थिइन सोएले एनएलडीले सरकारमा हुँदा चुनाव जित्न गैरकानुनी काम गरेको बताएका छन्। निर्वाचन आयोगले गत वर्षको चुनाव परिणाम अमान्य हुने घोषणा गरेको छ।  

सेनाले २ वर्षपछि चुनाव गराउने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.