|

सल्यान : राजनीति पेशा होइन, समाजसेवा हो भन्ने मान्यतालाई राजनीतिमा लागेका सल्यानका युवाले व्यवहारमा उतार्न थालेका छन्।

जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा जुटेका छन्।

शेरबहादुर पुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपुरकोट गाउँपालिकाका पार्टी सचिव हुन्। चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशालाई अंगालिरहेका छन्।

उनले व्यावसायिक बंगुरपालनलाई आफ्नो आय स्रोतको रुपमा लिएका छन्। पछिल्लो पटक राजनीतिमा लाग्नेहरु केही काम गर्न नसक्नेहरु, नेताको आसेपासे भएर खान पल्किएका भन्ने गुनासो छ उनले भने, 'सामाजिक रुपमा हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ जसले जनताको मनमा प्रश्न उब्जनु पनि स्वाभाविक हो। यसलाई तोड्न पनि कृषि कर्ममा जोडिएको हुँ।’

पहिलेको तुलनामा राजनीतिमा बढी समय दिने गरेको बताउँदै समय व्यवस्थापन गर्न सक्ने हो भने राजनीति र कृषि पेशालाई सँगसँगै मजाले चलाउन सकिँदो रहेछ उनले भने।

चार वर्षदेखि व्यावसायिक बंगुरपालनमा जुटेका पुनले सबै खर्च कटाएर वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी गर्दै आइरहेका छन्। दुईवटा बंगुरबाट व्यावसाय सुरु गरेका पुनले मासुभन्दा पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने बताए।

एउटा बंगुरले ८ देखि १२वटा सम्म जन्माउने र जन्मिएका पाठापाठी एक महिनापछि बिक्री गर्न योग्य हुने उनको भनाइ छ। एउटा पाठाको पाँच हजारका दरले बिक्री हुने भएकाले बिक्री वितरणको समस्या नहुने उनले बताए।

उनले भने, ‘मसँग नौ वटा ठूला बंगुर छन् तीन तीन महिनाको अन्तरमा बंगुरले पाठापाठी पाउछन्। एक लटमा झन्डै ९० वटा भन्दा बढी पाठापाठी बिक्री हुन्छन्।’

व्यावसायिक बंगुरपालनसँगै तरकारी खेतीसमेत गर्दै आइरहेका पुनले तरकारी खेतीबाट पनि वार्षिक २ लाख आम्दानी गर्दै आइरहेका छन्। व्यवसायको थालनी गरेदेखि पैसाको लागि अर्काको अघि  हात थाप्नु नपरेको उनको भनाई छ।

यस्तै, वाइसिएल नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश भण्डारीले पनि राजनीति र तरकारी खेतीलाई सँगसँगै अघि बढाउँदै आइरहेका छन्। २५ रोपनीमा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका भण्डारीले राजनीतिलाई धेरैले पेशा बनाउँदा राजनीतिप्रति जनताको विश्वास घटेको अनुभव सुनाउँदै उनले राजनीतिसँगै कृषिमा लागेको बताए।

भण्डारीले राजनीतिमा जतिको सक्रिय छन्, त्यतिकै आफ्नो पेशालाई समेत व्यवस्थित बनाएका छन्। उनले भने, ‘राजनीति गर्न चाहिने आर्थिक स्रात आँफैले जुटाउनु पर्छ भनेर कृषि पेशा रोजेको हुँ, यसले मलाई आत्मनिर्भर बन्न पनि सघाएको छ।’

कुराले मात्र आर्थिक समृद्धि नआउने बताउँदै उनले जबसम्म सम्पूर्ण युवा समुदाय उत्पादनमुलक कार्यमा लाग्दैनन् र राज्यले कृषिमा लगानी बढाउँदैन तबसम्म देशमा आर्थिक समृद्धि सम्भव नभएको बताए। उनले भने ‘मेरो व्यवसायले मलाई अप्ठेरो होइन बरु सजिला बनाएको छ। मलाई अझ समाजसेवामा सक्रिय हुने अवसर मिलेको छ।’

तरकारीखेतीबाट वार्षिक १२ देखि १३ लाखसम्मको कारोबार भएपनि वार्षिक ८ लाख चोखो आम्दानी हुँदै आइरहेको उनको भनाइ छ।

पछिल्लो समय कृषिमा राजनीतिममा लागेका व्यक्तिहरुको संख्यामा वृद्धि आएको छ।

कृषिलाई व्यावसायिक रुपमा गर्ने हो भने राम्रो आम्दानी हुने अर्का राजनीतिककर्मी सुनिल श्रीसले बताए। पढेलेखका र राजनीतिमा लागेका युवाले कृषिमा भविश्य बनाउन सक्छन् र यो आर्थिक सशक्तीकरणको एक माध्यम पनि हो भन्ने उदाहरण दिन कृषि पेशामा लागेको श्रीसको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.