|
जाजरकोटमा अक्सिजन प्लान्ट उद्घाटन गर्दै पूर्वमन्त्री शक्तिबहादुर बस्नेत। तस्वीर : हेमन्त केसी

जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा अक्सिजन उत्पादन सुरु भएको छ। पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले आज (बुधबार) अक्सिजन उत्पादनको उद्घाटन गरेका हुन्।

एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए।

कम्तिमा १० वर्ष प्लान्टले अक्सिजन उत्पादन गर्ने जानकारी उनले दिए। ८० लाख रूपैयाँमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत सहज हुनेछ। 

साथै ५० शय्याको जिल्ला अस्पतालमा नयाँ भवन निर्माण भइरहेको छ। झण्डै ३२ करोड रूपैयाँको लागतमा अत्याधुनिक सुविधायुक्त भवन निर्माण हुन लागेको हो। 

भवन निर्माण ७० प्रतिशत सकिएको छ। कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शय्याको अस्पताल छन्।

कर्णाली प्रदेश सरकारको मातहतमा स्वास्थ्य सेवा कार्यालय भएपनि यो प्लान्ट किन्न संघीय सरकारले बजेट दिएको हो।

जिल्लामा स्वास्थ्य सेवा सुधार्न सक्रिय हुनेछुः पूर्वमन्त्री बस्नेत

जिल्लाको स्वास्थ्य सेवा सुधारमा र प्रभावकारी बनाउन आफू सधैं सक्रिय रहने पूर्वगृहमन्त्री बस्नेतले बताए। 

उद्घाटनमा उनले भने, 'अहिले नयाँ भवन निर्माण जारी छ, हामी जनशक्तिसमेत थप्दै छौँ। ८ वर्षमा जाजरकोटको स्वास्थ्य क्षेत्रमा ठूलो सुधार भएको छ।'

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि मात्र जाजरकोटमा विकास निर्माणका काम भएका थिए। दुर्गम जिल्ला जाजरकोट विस्तारै सुगमताको मार्गतिर गइरहेको दावी उनले गरे। 

उनले जिल्लामा टेलिफोनको समस्या केही दिनभित्रै समाधान हुने र विद्युतीकरण गर्न आवश्यक उपकरण तथा सामग्री नभएकाले महिनादिनमा आपूर्ति हुने बताए।

विद्युतीकरणका बाँकी काम तत्काल गर्न निर्माण व्यवसायीलाई फिल्डमा खटाएको विद्युत प्राधिकरण जाजरकोटका प्रमुख गोपाल ठाकुरले बताए। 

सडक निर्माणका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा काम अघि बढेको पूर्वमन्त्री बस्नेतले बताए। 

जाजरकोटको कुशेबाट जुम्ला जोड्न सुरुङको डिपिआर तयार भइरहेको र डिपिआर आउनासाथ सुरुङ निर्माण सुरु हुने उनको भनाइ थियो।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.