|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वतारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन्।

बुधवार कोभिड १९ बाट प्रभावितहरूको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका हुन्।

उनले पर्वतारोहीहरूकै कारण देश चिनिएको बताउँदै यसअघिका मन्त्रीहरूले पर्वतारोहीहरूको कल्याण कोषमा उक्त रकम नछुट्याउनु मन्त्रीहरूको दोष भएको पनि बताए।

कोरोना भाइरसका कारण नेपाली पर्यटन क्षेत्रलाई ठूलो असर परेको भन्दै यसबाट मुक्ति पाउन अझै केही समय लाग्ने मन्त्री आलेले बताए। उनले भने, ‘नेपाली पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन अझै केही समय लाग्ने देखिएको छ।

हालै मात्र दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले फेरि पनि अवस्था भयावह हुने हो कि भन्ने चिन्ता थपेको छ। यसप्रति विश्वका अन्य देशहरूले गरेका सावधानीका विभिन्न उपाय नेपालमा पनि अपनाइएका छन्।

नेपाल सरकारले पनि त्यस क्षेत्रमा आउने व्यक्तिहरूलाई क्वारेन्टाइन, बस्नुपर्ने व्यवस्था गरेको छ। नेपाली पर्यटन क्षेत्रलाई यो महामारीकै बीच कसरी अघि बढाउने भन्ने बारे सोच्नु हामी सबैको जिम्मेवारी हो।’

पर्यटन क्षेत्रलाई फेरि पनि चलायमान बनाउने प्रयासमा सबै लाग्नुपर्ने भन्दै आलेले त्यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू सधैँ तयार रहेको बताए।

मन्त्री आलेले नेपाल एयरलाइन्सलाई विगतदेखि नै खाने भाँडो बनाएको भन्दै सरकारको ध्वजाबाहक एयरलाइन्सभित्र रहेका फोहोर सफा गर्दा आफैँ हैरान बनेको सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.