काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे केपी शर्मा ओली। तर, भीम रावलले अन्तिमसम्म पछि नहट्ने अडान लिएपछि ओली चुनाव जितेरै अध्यक्ष बने।
प्रतिस्पर्धामा ओलीले १८ सय ३७ मत पाए भने रावलले २ सय २३ मत मात्रै पाए। तर, एमालेमा ओलीविरुद्ध रावलले ल्याएको मत सामान्य होइन। जसरी महाधिवेशन प्रतिनिधि चयन भएका थिए, त्यसलाई हेर्दा शतप्रतिशत हार्ने चुनाव उठ्ने रावलको आँटलाई कम आँक्न मिल्दैन।
उनको उम्मेदवारीलाई धेरैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मर्नबाट जोगाएको टिप्पणी गरेका छन्।
रावलले पनि पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन आफूले चुनावी प्रतिस्पर्धाको बाटो रोजेको बताएका छन्।
नेता रावलले ट्विटरमा लेखेका छन्, ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।’
एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।
— Dr. Bhim Rawal (@BhimRawal179) December 1, 2021
अध्यक्षमा ओलीसँग हारेका रावलले केन्द्रीय सदस्यमा भने जितेका थिए। तर, उनले स्वीकार गरेनन्।
लामो समयसम्म माधव नेपाल खेमामा रहेर रावल पार्टी विभाजनका बेला १० बुँदे सहमति गरी एमालेमै बसेका थिए। एमालेमै रहँदा समेत ओलीको चर्को आलोचक मध्येका एक हुन् रावल। यस्तै, ओलीको कटु आलोचक अर्का नेता हुन् घनश्याम भुसाल।
सधैं झैं ओलीको विरोधमा उत्रिने गरेका भुसाल ओलीको सर्वसम्मतको सूचीमा परेनन्। उनले पनि उपाध्यक्षमा चुनाव लड्ने निर्णय गरे। तर, भुसालले हारे। तर उनी पनि केन्द्रीय सदस्यमा भने विजयी भए।
उपाध्यक्षमा भुसालले ७२५ मत प्राप्त गरे। तर, ओलीको रुचीमा परेका युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत प्राप्त गरी विजयी भएका थिए।
नवौँ महाधिवेशनमा उपाध्यक्ष जितेका रावल र उपमहासचिव जितेका भुसाल पदाधिकारीबाट बाहिरिएपछि अब उनीहरुको पार्टीमा कसरी व्यवस्थापन हुन्छ? भन्ने आम चासोको बिषय बनेको छ। त्यतिमात्र हाेइन उनीहरुले केन्द्रीय सदस्य पनि अस्वीकार गरेकाले यो बढ्ता चासोको विषय बनेको हो।
तर, पदाधिकारीबाट पराजित भएकाहरुलाई पार्टीले उपयुक्त स्थान दिने एमाले उपमहासचिव प्रदिप ज्ञवाली बताउँछन्।
उनी भन्छन्, ‘उहाँहरु पार्टीको शीर्ष नेताहरु हुनुहुन्छ। त्यसैले उहाँहरुको व्यवस्थापनको लागि स्थायी कमिटीको जिम्मेवारी दिइन्छ।’
स्थायी कमिटीको रुपमा व्यवस्थापन गर्नकै लागि भएपनि उनीहरुले केन्द्रीय कमिटीलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
'स्थायी कमिटीमा रहन केन्द्रीय सदस्य हुनुपर्छ। तर, उहाँहरुले केन्द्रीय सदस्यलाई अस्वीकार गर्नुभएको छ नि हैन? भन्ने थाहाखबरको प्रश्नमा ज्ञवालीले भने, ‘पद अस्वीकार गरेको भन्ने कुरा उहाँहरुले आधिकारीक रुपमा पार्टीलाई जानकारी गराउनुभएको छैन। त्यसबारेमा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौँ।’
पदाधिकारीमा पराजित भएर बाहिर रहेकाहरुलाई पार्टी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्।
उनी भन्छन्, ‘घनश्यामजी त केन्द्रीय सदस्य हुनुहुन्छ। अब भीम रावलको हकमा पार्टीको बैठकले कुनै न कुनै जिम्मेवारी दिन्छ।’
भीम रावलले केन्द्रीय सदस्य अस्वीकार गरेको भन्दा पनि आफ्नो उम्मेदवारी नै नरहेकाले पदमा बस्दिन भनेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।