|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा वर्षेनी कोदो खेती गर्ने क्रम घट्दै गइरहेको छ। केही समय पहिलेसम्म मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण ,धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँहरूमा प्रशस्त कोदो खेती हुन्थ्यो।

तर आजकल कोदो खेतीप्रति किसानहरूको मोह घट्दै गएको छ। म्याग्दीका किसानहरूले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो। उत्पादन धेरै भएपनि बिक्री हुन छाडेपछि किसानहरू कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन्।

कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसानहरू कोदो खेतीप्रति आकर्षित हुन छाडेका कृषकहरूले बताएका छन्। म्याग्दीको ग्रामिण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ।

तर यहाँका किसानले कोदो खेतीलाई भने उपयुक्त मान्न छाडेका छन्। त्यसैले अहिले कोदोका लागि योग्य जमिन बाँझै छाडेका छन्। कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ।

जसकारण बेनी, पोखरा, काठमाडौंलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ। तर, उपयुक्त बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन्। कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको गुनासो छ।

प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएका छैनन्। म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ। थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ।

अहिलेसम्म व्यावसायीक रुपमा कोदो खेती गर्ने किसान छैनन्। खानका लागि मात्र उत्पादन गरिने गरेको छ। तर, उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ। खाएर मात्रै सकिँदैन।

बेच्ने बजार नै छैन। भएको बजारसम्म पुग्न र पु¥याउन यातायातको सुविधा समेत नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देविस्थानका कृषक इन्द्रमाया फगामीले बताइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.