काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब फ्रेन्ड्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ। निश्चित जितको खोजीमा भए पनि दुबै टोलीले उक्त चाहना पूरा गर्न सकेनन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुबै टोली गोलरहित बराबरीमा रोकिए।
खेलमा दुबै टोलीले गोलका सीमित अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। चौथो मिनेटमै फ्रेन्ड्सका प्रिजेन तामाङले गरेको लङ सटलाई थ्रीस्टारका गोलरक्षकले क्लियर गर्दा सुरुवाती संकट टरेको थियो।
त्यसपछि हेमन्त थापा मगरको फ्री किकलाई फ्रेन्ड्सका गोलरक्षकले जोगाए। त्यसपछि पनि दुबै टोलीले गोलका प्रयास गरे पनि खतरनाक मुभ भने बनाउन सकेनन्।
यद्यपि दोस्रो हाफमा दुबै टोली थप आक्रमक बनेका थिए। ५० औं मिनेटमा थ्रीस्टारका ऋतिक खड्काको प्रहार गोलरक्षकले जोगाउँदै फ्रेन्ड्सको संकट टारे। लगत्तै फ्रेन्ड्सले खेलमा अग्रता लियो ५१ औँ मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
गार्सियाले प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा फर्कन आक्रमक बनेको थ्री स्टारले गोलका केही राम्रा अवसर निरन्तर बनायो। ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोग राईको प्रहार पोलमा लागेर बाहिरिँदा थ्रीस्टार सम्भावित बराबरीबाट चुकेको थियो।
यद्यपि त्यसपछि पनि थ्रीस्टारले आफ्नो प्रयास जारी राख्यो। अन्ततः ८२ औँ मिनेटमा थ्रीस्टार गोल फर्काउन सफल रह्यो। थ्रीस्टारका लागि मिक्छेन तामाङले गोल गरे। उनले ऋतिक खड्काको पासलाई सदुपयोग गर्दा थ्रीस्टारको सम्भावित हार टरेको थियो।
खेलमा थ्रीस्टारले अग्रता बनाउने प्रयासलाई अन्तिमसम्म कायम राख्यो। गोल रक्षक अघि बढेको मौकामा ८५ औँ मिनेटमा ऋतिकले नै गरेको प्रहार फ्रेन्ड्सका एन्थोनी पउलले गोल लाइनबाट हेड गर्दै क्लियर गर्दा फ्रेन्ड्सको अन्तिम संकट टर्यो।
बराबरीपछि थ्रीस्टारले अंक तालिकामा ३ खेलबाट ४ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। फ्रेन्ड्सको भने दुई अंकका साथ १० औँ स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।