|

काठमाडौं : अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ। 

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरुलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ। 

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।  

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिक्स उत्सवमा योगदान नगर्ने बताइन्। साकीले अमेरिकी सरकारले प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुने तर २०२२ का खेलहरुमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताएकी हुन्।  

अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलम्पिक्स आयोजना गर्दैछ। चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई नांगो राजनीतिक व्यवहारको संज्ञा दिँदै यो कदम चिनियाँ जनताविरुद्ध अपराध ठहरिने यसअघि नै बताइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.