|

काठमाडौंं :   काठमाडौंं महानगरपालिकाले आफ्ना छिमेकी नगरपालिकालाई पार्क निर्माणका लागि २ करोड रूपैयाँ सहयोग गरेको थियो।

काठमाडौंमा पार्कको अभाव महसुस गर्दै काठमाडौंं जिल्लाका १० र भक्तपुर जिल्लाका २ वटा नगरलाई पार्क निर्माण गर्न प्रति नगर २ करोड रूपैयाँ सहयोग गरेको थियो। 

पार्क बनाउन महानगरपालिकाले २०७५ माघ २७ मा १० वटै नगरपालिकालाई १/१ करोड रूपैयाँको चेक दिएको थियो।

त्यसैगरी चाँगुनारायण र मध्यपुर थिमीलाई पनि १/१ करोड रूपैयाँ दिएको थियो। ०७६ मा चाँगुनारायणबाहेक सबै नगरलाई थप १/१ करोड रूपैयाँ दिएको थियो।

महानगरले रकम दिएको ३ वर्ष पुग्नै लाग्दा पनि ११ वटा पालिकाले पार्क निर्माण गरेका छैनन्।

हालसम्म एउटा पालिकाले मात्र पार्क निर्माण गरिसकेको काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले बताए। 

उनले भने, ‘भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले निर्माण सम्पन्न गर्‍यो, त्यसबाहेक पालिकामा निर्माणाधीन अवस्थामा रहेका छन्।’

यसै आवमा पार्क बनाइसक्नुपर्ने  

काठमाडौंं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माणाधीन पार्क चालू आवमा बनाइसक्नुपर्ने महानगरपालिकाले जनाएको छ।

कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रागिरीमा ‘मदन भण्डारी स्मारक पार्क’, नागार्जुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गोकर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बूढानीलकण्ठमा ‘बूढानीलकण्ठ पार्क’ र कागेश्वरीमा पार्क र भक्तपुरका मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकालाई पार्क बनाउन आर्थिक सहयोग गरेको थियो।

दक्षिणकाली, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाले भर्खर मात्र पार्क बनाउन थालेका छन्। 

यी हुन् निर्माणाधीन पार्क

कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रागिरीमा ‘मदन भण्डारी स्मारक पार्क’, नागार्जुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, बूढानीलकण्ठमा ‘बूढानीलकण्ठ पार्क’ निर्माण भइरहेको छ। 

तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम निर्माण गरिरहेको छ।

वडा नम्बर ३ स्थित जंगलको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिसम्म जान सिँढी, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल र प्रवेशद्वार निर्माण भइरहेको नगरपालिकाले जनाएको छ।

त्यस्तै कीर्तिपुर नगरपालिकाले ५४ रोपनीमा पार्क निर्माण अघि बढाएको छ।

नगरले गोर्खाली र कीर्तिपुरे फौजबीच विसं १८१४ देखि १८२२ सम्म तीन पटक युद्ध भएको ऐतिहासिक स्थानमा ‘युद्ध स्मारक पार्क’ निर्माण गरिरहेको जनाएको छ।

टोखा नगरपालिकाले झरनासहितको चिल्ड्रेन पार्क निर्माण गरिरहेको छ।

त्यस्तै चन्द्रागिरी नगरपालिकाले मदन भण्डारी पार्क निर्माणका गरिरहेको छ।

दक्षिणकाली र शंखरापुर नगरपालिकाले भने प्रक्रियागत कारणले केही ढिलाइ भएको जनाएका छन्।

त्यसैगरी चाँगुनारायण नगरपालिकामा डिपिआर तयार भइरहेको महानगरपालिकाले जनाएको छ। 

मध्यपुरले मात्र बनायो पार्क

सबै पालिकाले पार्क बनाउन सुरु गरेका तर बनाइ नसकेको महानगरको भनाइ छ।

नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंं महानगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमीस्थित शंखधर चोकमा शंखधर पार्क निर्माण भइसकेको छ।

काठमाडौंं महानगरपालिकाले ०७७/७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग  गरेको थियो। 

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौंं महानगरपालिकाको उक्त सहयोगबाट करिब १९ रोपनीमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डबली, पैदल पथ बनाएको छ।

काठमाडौंं महानगरपालिकाको २ करोड र मध्यपुर थिमीको ४ करोड गरी जम्मा ६ करोड रूपैयाँमा उक्त पार्क निर्माण  गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.