आर्थिक भार कामदारले बेहोर्नु पर्ने

|
फाइल तस्बिर

काठमाडौं : सरकारले केही समयदेखि कोरियामा काम गरेर फर्केका (कमिटेड) कामदारलाई रोजगारीका लागि कोरिया पठाइरहेको छ।

लामो समयदेखि रोकिएको कोरिया रोजगारीमा कात्तिकदेखि हालसम्म १ सय ५० जना पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

आगामी सोमबार १ सय २२ जना नेपाली कोरिया रोजगारीमा पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा ४६ जना कमिटेड र ७६ जना रेगुलर कामदार पठाउने तयारी भएको वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख सुरेश राउतले जानकारी दिए।

कोरियाको प्राथमिकतामा नयाँ कामदारभन्दा पनि पुराना कामदार परेका छन्। कोरियाले नेपाली कामदारको माग गरेकाले कमिटेड पठाएसँगै रेगुलर कामदार पठाउन थालेको विभागले जनाएको छ।

२०१८/२०१९ मा भाषा परीक्षा पास गरेर सम्पूर्ण तयारी पूरा गरेका कामदारलाई पठाउन लागिएको हो।

सरकारले पहिलो चरणमा रेगुलर कामदार पठाउनेछ। शाखा प्रमुख राउतले भने, ‘करिब ९ हजार कामदार भाषा परीक्षा पास गरेर बसेका छन्। पहिलो चरणमा उनीहरुलाई पठाएर मात्र नयाँको परीक्षा गर्नेछौं।’ ​

 

पुरानोको परीक्षा १ पुसमा,नयाँको अन्योल

कोरियामा कम्तिमा ५ वर्ष रोजगारी गरेर नेपाल फर्केका नेपालीको भाषा परीक्षा आगामी १ पुसमा गर्ने तयारी भएको छ।

कोरियाबाट फर्केका कम्पनीको अनुमति नपाएका वा नयाँ कम्पनीमा जान चाहनेले पुनः भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ। तिनीहरूको परीक्षाको तयारी भएको विभागले जनाएको छ।  

कम्पनीले बोलाएर जाने कामदार कमिटेडमा गनिनेछन्। उनीहरूले पुनः भाषा परीक्षा पास गर्नु नपर्ने शाखा प्रमुख राउतले जनाए। विभिन्न माध्यमबाट सूचना प्रकाशित गरी प्रशिक्षार्थीलाई फारम भर्न  भनिएकाे  विभागको भनाइ छ।

छोटो समयमा  इजरायलले कोभिड महामारीका बीचमा पनि केयर गिभरको रूपमा नेपाली कामदार लिनलाई प्रक्रिया अगाडि बढाइसकेको छ। भाषा परीक्षादेखि कामदारको स्वास्थ्य परीक्षण गरिसकेको छ।

यता कोरिया रोजगारीको परीक्षा २ वर्षदेखि रोकिँदा परीक्षाकाे तयारी हुन सकेको छैन।  कोरिया रोजगारीका लागि २०२०/२०२१ को परीक्षा हुन सकेको छैन।  

पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको संख्या कम हुँदै गएको छ। मानिसको गतिविधि बढेको छ।

साथै शैक्षिक संघसंस्थाले परीक्षा लिएको र विद्यालय पनि सञ्चालन भएका छन्। आकर्षक रोजगार मुलुक मानिएको कोरियाको भाषा परीक्षा भने कहिले हुने टुङ्गो लाग्न सकेको छैन। शाखा प्रमुख राउतले भने,‘ यसअघि परीक्षा पास गरेका कामदार पठाएर मात्र नयाँ परीक्षा लिइनेछ।’ 

कामदारलाई आर्थिक भार 

कोरिया रोजगारीमा जाने कामदारलाई आर्थिक भार थपिएको छ। लामो समयदेखि रोजगारीको क्रममा रहेका श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले गर्नुपर्ने आवाज उठाउँदै आए पनि व्यवहारमा लागु हुन नसक्दा श्रमिकलाई आर्थिक भार थपिएको हो।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकले क्वारेन्टाइनको व्यवस्था गरेका छन्। 

यता कोरिया सरकारले कोरोनाबाट बच्नका लागि भन्दै अन्य मुलुकबाट कोरिया प्रवेश गर्नेहरूका लागि १० दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ।

उक्त खर्च कामदार आफैंले व्यहोर्नुपर्ने बताउँदै आएको छ जसका कारण कोरिया जाने नेपाली कामदारलाई आर्थिक भार थपिएको हो।

पछिल्लो समयमा संसारभरि नै श्रमिकले कुनै शुल्क तिर्न नहुने आवाज उठिरहेको छ। यता कोरिया रोजगारीमा जाने नेपालीको भने करिब ८० हजार खर्च हुने गरेको छ।

सरकारले खाडी मुलुक र मलेसियाको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको छ। सन् २००७ देखि रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा उत्तीर्ण गरेर रोजगारीका लागि कोरिया गइरहेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.