|
घनश्याम बलम्पाकी,

सर्लाही : सर्लाहीको मध्य उत्तरी चुरे क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१२ भालुखोपका बासिन्दा वर्षौंदेखि आधारभूत सेवाबाट समेत वञ्चित छन्।

खानेपानी अभावमा काकाकुल बनेको गाउँलेले अहिलेसम्म गाउँमा बिजुली बलेको देख्न पाएका छैनन्। अधिकांश बासिन्दा विपन्न वर्गका रहेको उक्त गाउँका नागरिकले शिक्षा, स्वास्थ्य यातायात लगायतको सुविधा उपभोग गर्न पाएका छैनन्।

'राजनीतिक परिवर्तनसँगै ‘घरघरमा सिंहदरबार ल्यायौं भन्छन्, तर हाम्रो गाउँमा त तिर्खा मेटाउने शुद्ध पिउने पानीसमेत आएन अरु त के कुरा गर्नु,' स्थानीय नारायण मगरले निरास हुँदै भने।

चुरे क्षेत्रस्थित मगर समुदायको पुरानो बस्ती भालुखोप ०२२ सालको नापी अघिदेखि नै यहाँ बसोबास गर्दै आएको उनीहरू बताउँछन्।

वर्षौंदेखि भालुखोपमा पानीको कुनै मुुहान छैन। आफ्नो गाउँ  जिल्लाको विकट कर्णाली बनेको उनीहरुको गुनासो छ। 

गाउँमा खानेपानीको चरम अभाव हटाउन स्थानीय सरकारले चासो देला र पानी खान पाइएला भनेको वर्षौं भैसक्दा समेत कुनै काम नभएको स्थानीय केतरबहादुर दर्लामीले बताए।

पानीकै कारण गाउँ छाड्ने मनसाय कैयौं पटक बनाएको उनले सुनाए। तर, आर्थिक अवस्था अत्यन्त कमजोर तथा अन्य स्थानमा जाने कुनै विकल्प नभएकै कारण पानीसमेत नपाए पनि थातथलो कुरेर बसेको उनको गुनासो छ।

गाउँमा रहेको रहेको एक मात्र विद्यालय जनता प्राथमिक विद्यालयको अवस्था पनि नाजुक छ। गाउँको स्कुलमा कसैले नजरसमेत लगाउन चाहँदैन।

विद्यालयमा भौतिक पूर्वाधारलगायत अन्य सुविधा छैन। जनता प्राविका प्रधानाध्यापक हरि गुर्मछानका अनुसार स्कुलमा ६१ जना बालबालिकाले नाम लेखाएका छन्।

तर, २५ देखि ३० जनामात्र स्कुल नियमित आउने गरेको बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएकै कारण विद्यार्थीहरू आफ्ना अभिभावकसँगै काम सघाउन खेतबारीमा जाने गरेको बताए।

५ कक्षासम्म गाउँमा अध्ययन गरेपछि थप अध्ययनका लागि उनीहरू दैनिक ३ घण्टा हिँडेर जियाजोरलगायत अन्य ठाउँका स्कुल जानुपर्ने बाध्यता छ।

अहिले पनि गाउँका सय जना हाराहारीमा विद्यार्थी दैनिक ३ घण्टा हिँडेर छिमेकी गाउँका स्कुल पुग्ने गरेका छन्।

यसरि स्कुल टाढा भएका कारण अधिकांश बालबालिकाले बीचमै पढाई छाड्ने गरेका छन् भने पढ्ने पनि नियमित नजाने गरेको बताए। 

वर्षा सुरु भएपछि भालुखोपबाट अध्ययन गर्न आउने विद्यार्थीले महिनौं विद्यालय छुट्ने गरेको नारायण जनता मावि जियाजोरका प्रधानाध्यापक विजयशंकर चौधरीले जानकारी दिए।

गाउँमा अधिकांश बालबालिका ७/८ कक्षासम्म अध्ययनपछि पढाई छाडेर इँटाभट्टामा काम गर्न जाने पाइएको बताए।

गाउँमा प्राथमिक स्वास्थ्य सेवासमेत नहुँदा लालबन्दी बजार वा पत्थरकोट पुग्नुपर्ने बाध्यता छ। गाउँमा निजी वा सरकारी कुनै पनि स्वास्थ्य सेवा छैन।

एउटा सिटामोल ट्याबलेटको लागि पनि आधा दिन पर जानुपर्ने स्थानीयको भनाइ छ। गाउँका गर्भवतीले नियमित स्वास्थ्य जाँच गराउन पनि घन्टौं हिँडेर जानुपर्छ।

स्थानीय सरकारले समेत अझैसम्म पनि भालुखोपलाई सदरमुकामसम्म जोड्ने पहल नगरेको उनीहरुको गुनासो छ।

सडकको माग गर्दा स्थानीय तहले जथाभावी ट्रयाक खोल्ने गरे पनि त्यसको वर्ष दिन पनि टिक्दैन। यसरी जथाभावी खोलेको ट्रयाकले पहिरोको जोखिम बढेको छ। दिगो यातायातको व्यवस्थातर्फ कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ।

गाउँमा एक वर्षअघि बिजुलीको पोल र तार पुगेपछि स्थानीयमा खुसीको सिमाना रहेन। गाउँमा बिजुली आउने कुराले उनीहरु खुसी भएका थिए।

तर, उनीहरुको त्यो खुसी क्षणिक मात्र भयो। नेपाल विद्युत प्राधिकरणले विस्तार गरेको लाईन अहिले कामै नलाग्ने अवस्थामा छ।

प्राधिकरणले पोेल गाड्दा अत्यन्त लापरवाहीपूर्वक गाड्दा गाडिसक्न नपाउँदै पोल ढले। अहिले बिजुलीका अधिकांश पोल ढलेका छन्, तार जताततै लत्रिएका छन्।

चुरेको भौगोलिक संरचना विकासको बाधक भएका वडाध्यक्ष दुुर्गाबहादुर आलेले बताए। भौगोलिक संरचनाका कारण आधारभूत सेवा दिन समस्या भएको उनको भनाई छ। 

तर पनि आफूहरुले बर्सेनि सडक, पानी र बिजुलीको लागि ठूलो रकम खर्च गर्ने गरेको उनको दाबी थियो। ठूलो लगानीले मात्र दिगो संरचना तयार हुने भएकोले गर्न नसकिएको नगरपालिकाको भनाई छ।

गाउँमा सामान्य आधारभूत सेवासमेत नपाएपछि स्थानीय बिस्तारै पलायन हुँदै गएका स्थानीयको भनाई छ।

खेतीपाती, पशुपालन मुख्य पेसा बनाएका उनीहरु बिस्तारै काठमाडौंलगायत सहरमा मजदुरी गर्न तथा सिजनमा इँटाभट्टामा समेत काम गर्न जाने गरेका छन्।

युवा पुस्ता काम गर्न सहर जाने गरेकाले गाउँ शून्य हुन थालेको स्थानीय रुपलाल मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.