'अब नेपालमा उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था हुँदैन'

|

काठमाडौं : नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ।

कुल जनसङ्ख्याको ५० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ।

अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ। ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग गरिएको कुराकानी :

नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन? अतिरिक्त खोपले पुग्दैन र?

कोरोना महामारी फैलिँदै गयो भने ‘बुष्टर डोजर’ लगाउनुपर्छ। कोरोनाबाट थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिलाई ६ महिनापछि ‘बुष्टर डोज’ दिने गरिन्छ। महामारी फैलिँदै गएका खण्डमा सरकार नागरिकलाई ‘बुष्टर डोज’ दिन तयार रहेको छ।

नीति तथा व्यावहारिक रूपमा हामी लगाउनुपर्छ भनेर तयारी अवस्थामै छौं। कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौं तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएको खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ। 

राजनीतिक दल र नेताहरूलाई “पहिले भोट माग्न पर्चा लिएर जानुहुन्थ्यो, यसपल्ट खोप लिएर जानुहोस्” भनेको छु। खोप र स्वास्थ्यकर्मी दिने काम हाम्रो हो भनेको छु। पहिले हामी सिधै भोट माग्न मतदातासमक्ष गएका थियौँ तर यसपटक स्वास्थ्य दिन आएको छौँ भनेर सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई ५००–७०० मात्रा खोप निश्चित तापक्रममा राखेर जानुहोस् भनेर अनुरोध गरेको छु।

यही मितिदेखि भन्ने हामीले तय गरिसकेका छैनौँ। ‘बुष्टर डोजर’ का लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो सल्लाह भइसकेको छ। उहाँले ‘बुष्टर डोजर’ लगाउनका लागि अगाडि बढ्नू भन्नुभएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटुरोगी, मिर्गौला र दीर्घरोगीलाई मात्र ‘बुष्टर डोज’ लगाउनका लागि सिफारिस गरेको छ तर आम रूपमा अनिवार्य ‘बुष्टर डोज’ दिनुपर्छ भनेको छैन। यही पुस ४ गतेदेखि प्रत्येक स्कुलमा खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउँदै छौँ।

अहिले दैनिक एक लाख ८६ हजारले खोप लगाएको देखिन्छ। लक्षित समुदाय खोप लगाउन त्यत्ति उत्सुक भएजस्तो लाग्दैन। घरदैलामा नै खोप लगाउने केही योजना छ ?

शहरी क्षेत्रमा ८० प्रतिशतभन्दा माथिका मानिसले खोप लगाइसकेका छन् तर ग्रामीण भेगमा ३५ प्रतिशतले मात्र खोप लगाएका छन्। हामीसँग अझै पनि ७० लाख मात्रा खोप रहेको छ। साढे तीन करोड पाइपलाइनमा छ। मानिस खोप लगाउन आएका छैनन्।

यसअघि हामीले जिल्लामा मात्र केन्द्रित भएर खोप लगाएका थियौँ तर गाउँका मानिसहरू चेतनाको अभाव वा लापरवाही केले गर्दा हो‚ खोप लगाउन आएनन्।

उनीहरू आएनन भने पनि हामी चुप लागेर बस्दैनौँ। अहिले हामीले ट हजार खोप केन्द्रबाट खोप लगाइरहेका थियौँ। अब हामीले पुसको पहिलो हप्ताबाट १६ हजार खोप केन्द्र राखेर खोप लगाउँछौँ। जनताको घरदैलोमा खोप केन्द्र पुगेपछि मानिसले पक्कै पनि खोप लगाउने छन्।

सोह्र हजार खोप केन्द्रबाट पनि सबै नेपालीलाई खोप लगाउन सकिएन भने हामी जनगणना जस्तै गरी टोलटोलमा पुगेर लगाउँछौँ।

नेपालमा तीन करोड १४ खोप मात्रा आइसकेको छ। खोप दुई करोड सात लाख मात्रले लगाएको तथ्याङ्क छ। खोप भण्डारणमै थन्कियो भन्ने कुरा उठेको छ ? किन यसरी भण्डारण भयो ? खोपमा किन सबैको सहभागिता नभएको हो ?

राजनीति पार्टीले खोप अभियानलाई मुद्दा नै बनाएका छैनन्। मैले हालै संसद्को स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा पनि सबै मिलेर सर्वसाधारणलाई खोप लगाउने अभियानमा जुटौँ भनेको छु। गाउँ, समाजमा रहेका समूह, गैरसरकारी संस्था, पत्रकारलगायत सङ्घसंस्थालाई पनि भनेको छु।

राजनीतिक दल र नेताहरूलाई “पहिले भोट माग्न पर्चा लिएर जानुहुन्थ्यो, यसपल्ट खोप लिएर जानुहोस्” भनेको छु। खोप र स्वास्थ्यकर्मी दिने काम हाम्रो हो भनेको छु। पहिले हामी सिधै भोट माग्न मतदातासमक्ष गएका थियौँ तर यसपटक स्वास्थ्य दिन आएको छौँ भनेर सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई ५००–७०० मात्रा खोप निश्चित तापक्रममा राखेर जानुहोस् भनेर अनुरोध गरेको छु।

मलाई लाग्छ केही दिनपछि राजनीतिक दलले जनतालाई खोप लगाउन चेतना प्रदान गर्ने छन् भन्ने विश्वास लिएको छु। यदि राजनीतिक दलले नगरेमा हामीसँग भएका जनशक्तिबाट सबैलाई खोप लगाउँछौँ।

कोरोनाको ओमिक्रोन भेरियन्ट रोकथाम गर्न सरकारको योजना के छ ?

हामी अहिले ज्ञानविहीन अवस्थामा छैनौँ। पहिले कोभिड–१९ हुँदा खोप केही थिएन। हाहाकार भएका वेला पनि नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो।

त्यतिवेला अक्सिजनको अभाव थियो तर अहिले हामीसँग प्रशस्त्र मात्रामा अक्सिजन छ। अक्सिजन निकाल्ने सानादेखि ठूलो उपकरण हामीसँग छन्। स्वास्थ्यचौकीमा अक्सिजन पुर्‍याएका छौँ। ठूला अस्पतालमा १० हजार लिटरका प्लाण्ट स्थापना गरिसकेका छौँ।

निजी संस्था आउँछन् भने सबै भन्सार मिनाहा गरेर अक्सिजन प्लाण्ट खडा गर्न सहुलियत दिएका छौँ। डेढ वर्षमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको हुनाले हरेक स्वास्थ्य केन्द्रमा न्यूनतम सामग्रीदेखि चिकित्सक र स्वास्थ्यकर्मी पुर्‍याएका छौँ। आइसियु र भेन्टिलेटर पनि वृद्धि भएको छ, गत वर्ष जस्तो हाहाकार छैन।

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ । पहिले जस्तो हाहाकार महामारी हुँदैन। हामी अहिले सबैले खोप लगाइसकेका छौँ। ओमिक्रोनको आक्रमण कम हुन्छ कि भन्ने हामीलाई लागेको छ ।

अस्पताल, जनशक्ति सबै तयारी अवस्थामा छन्। भारतबाट नेपाल आउने १६ ठाउँमा सहायता कक्ष राखेका छौँ। शङ्कास्पद मानिसलाई क्वारेन्टिनमा राखेका छौँ। अरू मानिसलाई कार्ड हेरेर आउने, जाने व्यवस्था गरेका छौँ। ओमिक्रोन जस्तै अरू भेरियन्ट देखिएका देशबाट नेपाल आउनका लागि मानिसलाई रोक्छौँ ।

अर्को शुरुमा ओमिक्रोन अरूभन्दा चारगुणा बढी खतरनाक छ भनेर भ्रम फिँजाइयो। ओमिक्रोन गत मङ्सिर ३ गते देखिन थालेको हो। यस वेलासम्म कुनै पनि बिरामीमा थकाइ नलाग्ने जस्ता समस्या देखिएको छैन। सङ्क्रमण देखिएको छ तर सामान्य मानिस जस्तै देखिएका छन्। मङ्सिर ३ गतेयता विश्वमा ६०० जनामा  मात्र देखिएको छ। हाम्रो देशमा दुई जनालाई देखिएको थियो। ती सङ्क्रमित सञ्चो भइसकेका छन्। हामीले कैयौँ देशबाट मानिस आउनका लागि रोक लगाएका छौँ।

सबै स्वास्थ्यकर्मीले अझै कोभिड भत्ता पाएका छैनन्। कहिलेसम्म तिनले अतिरिक्त पारिश्रमिक पाउलान् त ?

वैशाखदेखि असारसम्मको कोरोना भाइरस भत्ता हामीले मागिसकेका छौँ। ४५ करोडभन्दा माथि नै रहेको छ। अर्थ मन्त्रालयबाट निकास भइसकेपछि हामी उपलब्ध गराउँछौँ। धेरै जसोलाई दिइसकेका छौँ। केही कर्मचारी मात्र छुटेका हुन्।

सरकारी अस्पतालमा उपचारका लागि अझै लाम लाग्नुपर्ने अवस्था छ । जनताले सरल तरिकाले स्वास्थ्योपचार कहिलेदेखि पाउँछन् ?

हामीसँग भएको जनशक्ति र स्रोत परिचालन गरेका छौँ । शय्या र जनशक्ति थप्ने योजनामा हामी छौँ। वीर अस्पतालमा ५०० शय्या थपिएको छ। अन्य अस्पतालको क्षमता र शय्या विस्तार गर्न धेरै बजेट विनियोजन गरेका छौँ। अहिले अस्पतालको निर्माण प्रक्रिया चलिरहेको छ। अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति थप्ने काम भइरहेको छ। अब बिरामी लामबद्ध हुने अवस्थाको अन्त्य गछौं।

नेपालमा स्वास्थ्योपचार सेवामार्फत समाजवादको अवधारणा कार्यान्वयन गर्न केकस्ता मौलिक नीति, योजना तथा कार्यक्रम ल्याउने सोचाइ राख्नुभएको छ ?

समाजवाद भनेको दुःखी, गरिब सबैले अवसरमा समानता पाउने प्रणाली हो। स्वास्थ्य बिमा निःशुल्क गर्ने तयारीमा छौँ । ज्येष्ठ नागरिकको उपचार निःशुल्क गरेका छौँ।

गरिबीको रेखामुनि रहेका मानिसलाई परिचयपत्रका आधारमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । सरकारी अस्पतालमा कडा र दीर्घकालीन रोगको उपचार निःशुल्क गरिरहेका छौँ। निःशुल्क गर्न नसकिएको बिरामीलाई आर्थिक सहयोग गरिरहेका छौँ। अहिले उपलब्ध गराइएको सुविधा पर्याप्त छैन, अझ सेवा, सुविधा विस्तार गर्नुपर्छ।

कडा खालका मुटु, मिर्गौला, अर्बुदरोग, एड्स जस्ता रोगीलाई शतप्रतिशत निःशुल्क उपचार गराउने केही योजना छ ?

हामी भर्खर आएका छौँ। हामीसँग भएको स्रोतसाधन, बजेटको स्थिति त्यो सबै हेरेर के गर्न सकिन्छ भनेर हामी गृहकार्य गरिरहेका छौं। हाम्रो आर्थिक स्रोतमा एक–दुई करोड तलमाथि पार्न सक्दा बढीभन्दा बढी जनताले फाइदा पाउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ। अहिले हामी मुटु रोग, मिर्गौला, एड्सजस्ता बिरामीको निःशुल्क उपचार गरेका छौँ। बजेटमा विभिन्न प्रकृतिका बिरामीलाई पाँच हजार रुपैयाँ दिने भनिएको छ। थप अझ के गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ। 

देशका विभिन्न ठाउँमा प्राकृतिक चिकित्सालय पनि खोलिरहेका छौं। जनशक्ति उत्पादन भइरहेका छन्। परम्परागत रूपमा चल्दै आएका वैकल्पिक चिकित्सा प्रणालीलाई इन्कार गरेका छैनौँ। केही वर्षयता ह्वात्तै आयुर्वेदिक र प्राकृतिक चिकित्साको लोकप्रियता बढेको छ। राज्यले यसलाई संरक्षण र प्रोत्साहन गरेको छ

स्वास्थ्य बिमा सबै जिल्ला र सबै ठाउँमा कहिले पुर्‍याइने होला ?

स्वास्थ्य बिमामा हामीले आकर्षण बढाउन सकेका छैनौँ। त्यो स्थानीय जनप्रतिनिधि र हाम्रो कमजोरी हो। तीन हजार ५०० लगानी गर्नेबित्तिकै आफूसँग पैसा नभएका वेला पनि उपचार गर्न पाउँछौ भन्न हामीले सिकाएका छैनौं।

हामीमा परेका वेला मात्र खर्च गर्ने बानी छ। स्वास्थ्य बिमामार्फत सबैलाई निःशुल्क गर्न सकिन्छ कि भनेर हामी सोचिरहेका छौँ। ज्येष्ठ नागरिक, विपन्न, आर्थिक अवस्था कमजोर भएकामध्ये केहीलाई निःशुल्क गरिसकेका छौँ र केहीको तयारीमा छौँ। अहिले पनि दलित तथा ७० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा छ।

उपचार र उपचार खर्च नपाएर अहिले पनि मानिसले असमयमै ज्यान गुमाइरहेका छन्। यस्तो स्थितिको अन्त्य कहिले हुने हो ?

उपचार गर्न नपाएर मानिसहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था अब हुँदैन। अस्पतालको ढोकामा पुगिसकेपछि बिरामीलाई अस्पतालले उपचार गरेका छन्। हामीसँग भएको क्षमता र जनशक्तिबाट हामीले सेवा पुर्‍याइरहेका छौँ।

हामीले सरकारी अस्पतालको क्षमता बढाउँदै जाने हो। सरकारी अस्पतालमा सहुलियत पनि छ। त्यसैले त्यहाँ भिड देखिएको हो। हामी सरकार अस्पतालमा जनशक्ति र शय्या थप्ने जस्ता काम गरिरहेका छौं।

वीर अस्पतालमा ५०० शय्या थपिँदै छ। त्यसपछि त्यहाँ भिड कम हुन्छ। हामीले विभिन्न अस्पताल र प्रतिष्ठानमा बजेट विनियोजन गरेका छौँ। आठ अर्बका निर्माण प्रक्रिया चलिरहेका छन्।

प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ गर्ने केके योजना छन्? अब सङ्घीयतालाई बढावा दिन पनि हरेक प्रदेशमा एकएक चिकित्सा विश्वविद्यालय स्थापना गरिनुपर्ने होइन र?

सात प्रदेशमा शिक्षण अस्पताल र प्रतिष्ठान खोल्नका लागि निर्माण प्रक्रिया पूरा गरेर हामी ठूला अस्पताल स्थापना गर्छाैँ। रामराजाप्रसाद सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताका नाममा प्रतिष्ठान खोलिँंदै छ जसमा विद्यार्थी पढ्ने र उपचार पनि हुने व्यवस्था गरिंँदै छ।

पुराना अस्पतालको क्षमता विस्तार गरी सुविधासम्पन्न बनाइरहेका छौँ। पालिकास्तरमा पाँचदेखि १५ शय्याको अस्पताल बनाइरहेका छौँ। कुनै पनि स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्नुपर्छ भनेर काम गरिरहेका छौँ।

स्वास्थ्य क्षेत्रलाई सकभर जनताको पहुँचमा पुर्‍याउने काम भइरहेको छ। गाउँगाउँसम्म स्वास्थ्यको सेवा पुगोस् भन्नेमा सरकारको ध्यान गएको छ।

प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थी रकम अभावमा चिकित्सा शिक्षा अध्ययन गर्न वञ्चित छन्। चिकित्सा विषय पढ्न खोज्ने विपन्न विद्यार्थीलाई सहुलियत दरमा वा निःशुल्क अध्ययनको व्यवस्था त सरकारले नै गर्नुपर्ने हैन र?

छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई हामीले पढाइरहेका छौँ। क्षमता र योग्यता भएका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन्। छात्रवृत्ति कोटा पनि छुट्टाइएको छ। काठमाडौँ उपत्यका बाहिर शिक्षण अस्पताल खोल्न आउँछन् भने हामीले अहिले पनि अनुमति दिन्छौं।

तपाईं स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य क्षेत्रमा कस्ता विकृति देख्नुभयो? त्यसको समाधान गर्न के प्रयास गर्दै हुनुहुन्छ?

जसले जे जिम्मेवारी पाएको छ, त्यसले त्यो पूरा नगरेको अवस्था छ। खटाइएको ठाउँमा जानुपर्‍यो। छल्न र झुक्काउन भएन। ठूला अस्पतालमा शय्या बढाउने जस्ता समस्या छन्। औषधिलगायत ठाउँमा कालोबजारी भएको छ भने नियन्त्रण गर्नुपर्‍यो।

स्वास्थ्य बिमा धेरै ठाउँमा पुर्‍याइने जस्ता विषय समस्याका रूपमा देखिएका छन्। यसमा हाम्रो ध्यान पुगेर काम गरिरहेका छौं।

वैकल्पिक स्वास्थ्य चिकित्सा प्रणालीलाई प्राथमिकतामा राख्नका लागि केकस्ता प्रयास भएका छन् ?

देशका विभिन्न ठाउँमा प्राकृतिक चिकित्सालय पनि खोलिरहेका छौं। जनशक्ति उत्पादन भइरहेका छन्। परम्परागत रूपमा चल्दै आएका वैकल्पिक चिकित्सा प्रणालीलाई इन्कार गरेका छैनौँ। केही वर्षयता ह्वात्तै आयुर्वेदिक र प्राकृतिक चिकित्साको लोकप्रियता बढेको छ। राज्यले यसलाई संरक्षण र प्रोत्साहन गरेको छ।रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.