३ सय दिन्छु भन्यो अनि आएँ

|

काठमाडौं : केही समयअघि कन्सुलर विभागमा प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो। लाइनले सर्वसाधारणलाई सास्ती भोग्नुपरेको भन्दै कन्सुलर विभागले गत भदौमा अनलाइन सेवा सुरु गरेको थियो। 

विभागमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने गरेका थिए। भीडलाई व्यवस्थापन गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिए पनि यसले सर्वसाधारणलाई सहज बनाउनुको साटो केहीका लागि ठगी गर्ने बाटो बनेको छ।

सर्वसाधारणले आफैंले भर्नसक्ने फारम म्यानपावर कम्पनी वा अन्य व्यक्तिको भर पर्दा ठगिने गरेको कन्सुलर विभागले जनाएको छ।  

एकातिर वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगिएका छन् भने अर्कातिर बेरोजगार गरिबीको चपेटामा परेका व्यक्तिलाई म्यानपावर कम्पनीले परिचालन गरेको पाइएको छ।  

वैदेशिक रोजगारीको खोजीमा कतार जाने तयारीमा रहेका नुवाकोटका अनिश मोक्तानले म्यानपावर कम्पनीलाई १ लाख २० हजार बुझाए। प्रहरी रिपोर्ट आफैले बनाइदिने भन्दै थप चार हजार लिएको तामाङले बताए।

उनले भने, ‘प्रहरी रिपोर्टका लागि एक हप्ता लाग्छ। तपाईँ जानु भयो भने काम ढिलो हुन्छ भन्यो। त्यसैले चार हजार बुझाएँ।’   

कन्सुलर सेवालाई छिटो, छरितो, प्रभावकारी र सेवाग्राही अनुकूल बनाउने उद्देश्य थियो। कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर ओलीले भने, ‘बिचौलियाले यसलाई दुरुपयोग गरे।’

३ सय दिन्छु भन्यो अनि आएँ 

बुधबार मध्याह्नको समयमा नारायणहिटी स्थित कन्सुलर विभागमा खचाखच भीड देखियो। वैदेशिक रोजगारीमा जानेहरूले पुलिस रिपोर्ट बनाउन आउनेको भीड थियो। 

सोही भीडमा कञ्चनपुर घर भएका प्रेम जोशी भेटिए। उनले अनलाइनबाट भरेको फारम विभागका कर्मचारीलाई बुझाए। ती कर्मचारीले नम्बर भेरिफाई गरे। जाेशीले कर्मचारीलाई बुझाएको फारम हेर्दै  प्रश्न गरे, ‘यो तपाईँ आफ्नै ल्याउनु भएको हो?’

उनले अकमकाउँदै हो भन्ने जवाफ फर्काए। ती कर्मचारीले मास्क खोल्न लगाए। जोशीको अनुहार हेर्दै आफ्नो होइन भन्ने झल्किसकेको थियो।

कर्मचारीले फेरि प्रश्न तेर्स्याए‚ ‘तपाईँको नाम?’ नाम भन्नुभन्दा पहिला उनले भने, ‘सर यो मेरो दाइको हो।‘

कर्मचारीले फेरि प्रश्न गरे दाइको नाम?  उनले अघिसम्म दाइ भनेका व्यक्तिको नाम भन्न सकेनन्। काँपेको स्वरमा भने‚ ‘नाम थाहा भएन, थर लिम्बु हो।‘ 

तपाईँको बन्दैन,जसको हो सोही व्यक्ति उपस्थिति हुनुपर्छ भनेर ती कर्मचारीले फर्काए। हामीले ती व्यक्तिलाई पछ्याइरह्यौँ।

​जोशीले आफूसँग आएका साथीलाई पत्र जफत भएको बताए। उनको आसपासमा ४ जना युवा जम्मा भएका थिए।

जोशीको पत्र जफत भएको जानकारी पाएसँगै उनीहरू भाग्न खोजे। तिनीहरूलाई रोक्दै हामीले सोध्यौँ। सहीछाप गर्नुभयो। उत्तर दिन चाहेनन्। 

सो परिसरमा खटिएका प्रहरीको सहयोगमा सोधपुछ गर्दा एकजना दाइले पठाएको उनको नाम, मोबाइल नम्बर केही जानकारी नभएको बताएका थिए। सो म्यानपावर सामाखुसीमा छ भन्ने जानकारी दिए तर अन्य कुरा बताउन चाहेनन्।

१९ वर्षका जोशीले भारतबाट १२ कक्षा पास गरेर नेपाल आएको बताए। अन्त्यमा उनले आफूलाई यो पत्रमा सही गराएबापत ३ सय रुपैयाँ दिने वाचा गरेर पठाएको खुलासा गरे। 

कन्सुलर विभागका महानिर्देशकले सोधपुछ गर्दा उनले भने, ‘मलाई अरू केही थाहा छैन सर। यो पत्र सही गराएर ल्याएपछि ३ सय दिन्छु भन्यो‚ खाना खान पैसा हुन्छ भनेर आएको हुँ।’ उनले सामाखुसीबाट पैदल आएको बताए। 

उनीसँगै कैलालीका पदम क्षेत्री आएका थिए। उनले सो पत्रमा सहीछाप  गराइसकेका थिए। क्षेत्रीले ल्याएको फारम पनि उनको थिएन।

पहिला आफ्नै हो भन्दै  उत्तर दिइरहेका थिए। उनीसँग भएको फाइल बाम्देल तामाङ नाम गरेको व्यक्तिको बोकेका थिए। मेरो साथीको हो भन्दै थिए।

धेरै बेर कुराकानी गरेपछि उनले अरूले नै २ सय दिन्छु भनेर पठाएको स्वीकार गरे। पठाउने व्यक्तिको नाम आफूलाई थाहा नभएको बताए। 

सो फारम बोकेर आउने व्यक्ति पहिचान गर्न मुस्किल हुने विभागले जनाएको छ। अनलाइन भर्ने फारममा झूटो विवरण बनाउन मिल्दैन, फोटो हेर्दा फरक जस्तो देखियो भने सोधपुछ गर्दा पत्ता लाग्छ। 

दैनिक ४० फारम जफत

पछिल्लो समय पैसाको लोभ देखाएर फारम बोकाई पठाउनेको संख्या बढेको कन्सुलर विभागले जनाएको छ। दैनिक करिब ४० वटा फारम पैसा दिन्छु भनेर पठाउने गरेको कन्सुलर विभागले जनाएको छ।

विभागसँग यसलाई नियन्त्रण गर्ने अर्काे संयन्त्र छैन। विभागका महानिर्देशक वीरेन्द्र ओलीले भने, ‘शंका लागेका व्यक्तिले ल्याएको पत्र जफत गर्ने हो‚ अरू उपाय छैन।’ 

प्रहरी रिपोर्टका लागि विभागले दैनिक १५ देखि १७ सय प्रमाणीकरण गर्ने विभागले जनाएको छ। यसरी विभागले गरेको प्रमाणीकरणमा अधिकांश म्यानपावरबाट आउने गरेको विभागले जनाएको छ।

म्यानपावरले व्यक्ति परिचालन गर्ने र सो व्यक्तिले सही कुरा नगर्दा म्यानपावर कम्पनीले ठगी गरिरहेको विभागले जनाएको छ। 

कसरी भर्ने अनलाइन फारम ? 

अनलाइनमार्फत प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्नका लागि कन्सुलर सेवा विभागको वेबसाइट https.nepalconsular.gov.np मा गएर अनलाइन एप्लिकेशन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गरेर अनलाइन आवेदन भर्नुपर्नेछ।

भरिएको फारम स्वीकृत भएपछि सेवाग्राहीले आफ्नो मोबाइलमा एसएमएस मार्फत फारम स्वीकृत भएको जानकारी पाउनेछन्।  

त्यसपछि सोही वेबसाइटको अनलाइन पेमेन्टमा गई एसएमएसमा प्राप्त भएको रिफ्रेन्स नम्बर र आफ्नो मोबाइल नम्बर राखेर कनेक्ट आइपीएसमार्फत वा अन्य कुनै डिजिटल वालेट वा भौचर प्रिन्ट गरी ग्लोबल आइएमइ बैंकको कुनै पनि शाखामा राजस्व दाखिला गर्नुपर्नेछ।

अन्तिम चरणमा राजस्व दाखिला गरेको भौचर र आफैंले प्रिन्ट गरेको प्रहरी प्रतिवेदनको रंगिन प्रति लिएर विभागमा आफैं वा आफूले निवेदनमा तोकेको व्यक्ति गएर कागजात लिन सक्नेछ। विभागमा अनुसार एकजना व्यक्तिले पाँचजनासम्मको कागजात लिइदिन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.