पहिलो प्राथमिकतामा प्रदेश नम्बर २

|

काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको कन्सुलर सेवा विभागले कन्सुलरसम्बन्धी सम्पूर्ण काम स्थानीय तहबाट सुरु गरेको छ।

विदेशमा रहेका नेपालीसँग जोडिएका घटना र समस्याको सम्बोधन गर्ने उद्देश्यले २५ भदौदेखि स्थानीय तहबाट कन्सुलरको काम सुरु गरेको थियो।  

कन्सुलरका समस्या सम्बोधन गर्नका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य गर्न उक्त कार्य अगाडि बढाएको कन्सुलर सेवा विभागले जनाएको छ।

उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट काम सुरु भएको कन्सुलर विभागका महानिर्देशक धनबहादुर ओलीले बताए। उनले भने, ‘पहिलो चरणमा उपत्यकाका तीन जिल्लामा सुरु गरेका छौँ।’

विदेशमा अलपत्र परेका, विभिन्न कारणवश जेलमा परेका, मृत्यु हुने लगायतको समस्या देखिएको छ। सबैभन्दा बढी समस्या प्रदेश नम्बर २ मा देखिएकाले सो अभियान सुरु गर्न लागेको विभागले जनाएको छ।

विभागका महानिर्देशक ओलीले भने, ‘सबै जिल्लामा एकैपटक सुरु गर्न सकिने अवस्था हुँदैन। जहाँ बढी समस्या देखिएको छ‚ त्यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न लागेका हौँ।’ 

कन्सुलर विभागमा आउनुअघि सबै कागजपत्र स्थानीय तहले तयार पार्ने हुन्छ। वडा कार्यालय, पालिका र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालय समेतको आवश्यक पर्ने देखिन्छ।

यसरी विभिन्न चरण पार गरेर विभाग आइपुग्दा समस्या हुने भन्दै विभागले स्थानीय तहबाट सुरु गरेको हो। स्थानीय तहले विभागले तयार पारेको सर्भरमा सो विवरण भर्न सक्नेछन्। सो विवरण विभागले हेर्न सक्नेछ।

अध्ययन र श्रम लगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपालीको समस्या छिटो छरितो समाधान गर्नका लागि स्थानीय तहबाट सेवा उपलब्ध गराएको विभागले जनाएको छ।

यसअघि कन्सुलर सेवासम्बन्धी सबै काम काठमाडौंमा कन्सुलर सेवा विभागले मात्र गर्दै आएको थियो।

देशका कुनाकाप्चाबाट कागजपत्र मिलाएर काठमाडौं आउन जान अधिकांशलाई समस्या हुन्छ।

‘दूरदराजमा रहेका नेपालीका आफन्तको विदेशमा मृत्यु भयो भने क्षतिपूर्तिका लागि महिनौं धाउनुपर्ने बाध्यता अन्त्य गर्न सेवा सुरु गरेका हौँ’‚ उनले भने।  

विदेशमा अलपत्र परेका, विदेशमा मृत्यु भई शव ल्याउनुपर्ने, उपचार गर्न आवश्यक भएका, क्षतिपूर्ति, मुद्दा लड्ने काम र खोजतलास लगायत सम्पूर्ण काम कन्सुलर विभागले गर्दै आएको छ।

अब विदेशमा रहेका नेपालीलाई कुनै समस्या परेमा समाधानका लागि स्थानीय तहमा नै निवेदन दिन सकिनेछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.