आरोपितहरु विदेश जान आएका, पीडित दुई सन्तानकी आमा

|

काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा एक महिला सामूहिक बलात्कारको शिकार भइन्। 

३४ वर्षकी ती महिलालाई नौ जना युवाले सोमबार होटलमा बन्धक बनाएका थिए। बन्धक बनाएर उनीहरु सबैले आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीमा उजूरी दिएपछि घटना बाहिर आएको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले पीडित महिला प्रहरीमा आउँदा शारिरिक र मानसिक स्थितिले ज्यादै नाजुक अवस्थामा आएको बताए।  'उहाँले सुरुमा जाहेरी दिने क्रममा यति धेरै मानसिक रुपमा विक्षिप्त हुनुहुन्थ्यो कि उहाँको बोलि पनि काँपिरहेको थियो। शरीरले काम नै नगरेको जस्तो अवस्था थियो', उनले भने।

मंगलबार दिउँसो करिब ३ बजेको समयमा ती पीडित महिला प्रहरीमा उजूरी दिन आएको प्रमुख गिरिले जानकारी दिए।

'उहाँ हामीकहाँ आउँदा सबैभन्दा पहिला हामीले अस्पताल लगेका हौं। ताकी उहाँहरूको स्वास्थ्यमा थप गम्भिर क्षति नहोस्। पीडकको लागि आवश्यक प्रमाण पत्ता लागोस्', उनले भने।

उनका अनुसार पीडित युवतीलाई उपचारपछि प्रहरीले आफ्नो संरक्षणमा राखेको छ। उनको अवस्थामा हाल सुधार आएको पनि प्रमुख गिरिले जानकारी दिए।

महिलाले उजुरी दिएपछि परिसरले प्रहरी खटाएको थियो।  'सुरुमा हामीले बसपार्क क्षेत्रका सबै सिसिटिभी फुटेज हेरेका थियौं', प्रमुख गिरिले भने, 'एक सिसिटिभी फुटेजमा पीडित महिलालाई एक युवाले एक गेस्ट हाउसमा लिएर गएको देख्यौ। यहीँबाट नै अनुसन्धान सुरु गरिएको थियो।'

गेस्ट हाउसका मालिक घटनामा संलग्न छन् कि छैनन् भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ।

महिलालाई एक गेस्ट हाउसमा मात्र नभई तीन वटा गेस्ट हाउसमा लगेर बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रमुख गिरिले जानकारी दिए।

तीन वटा गेस्ट हाउसमा लगिँदा पनि महिलाले कुनै प्रतिकार गरिनन् भन्ने प्रश्न पनि तेर्सिएको छ। तर, ती महिलाले शहरको बारेमा पनि खासै जानकारी नभएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।  'उहाँले बसपार्कमा मलाई बलात्कार गरियो भन्नुभयो। तर, गेस्ट हाउसको नाम भन्न सक्ने अवस्थामा उहाँ हुनु हुन्नथ्यो', ती प्रहरीले भने।

‘घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले सिसी क्यामराको सहयोगमा आरोपीमध्ये सात जनालाई मंगलबार नै नियन्त्रणमा लिएका छौं’, एसएसपी गिरिले भने, ‘थप एक जनालाई आज पक्राउ गरिएको हो। अर्को एक जनाको खोजी कार्य तिव्र बनाएका छौं।'

ती आरोपीहरू काठमाडौैका विभिन्न क्षेत्रबाट पक्राउ गरेर अहिले अनुसन्धानकै चरणमा रहेको उनले बताए।

पक्राउ पर्ने को-को छन्?

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मुगु छायानाथ रारा नगरपालिकाका हिक्मत नेपाली (मुख्य आरोपी), रतन नेपाली सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल र अर्घाखाँची शितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरिसकेको छ।

यस्तै, घटनामा संलग्न रहेका थप एक जना बुधबार बिहान पक्राउ परिसकेका छन्। थप एक जनाको खोजी जारी छ। प्रमुख गिरिले बलात्कारका आरोपित युवाहरू वैदेशिक रोजगारमा जाने तयारीमा रहेको जानकारी दिए।

बलात्कृत महिला काठमाडाैंमा नयाँ

प्रहरीले दिएको जानकारी अनुसार बलात्कृत महिला सुर्खेतकी हुन्। उनका श्रीमान हाल भारतमा रहेका छन्। दुई सन्तानकी आमा उनी कामको खोजीमा काठमाडौं आएकी थिइन्।

'हामीले महिलाको मानसिक तथा शारिरिक अवस्थालाई मध्येनजर गरेर सबै कुरा खुलाउन मिल्दैन। अहिले उहाँ (महिला) काठमाडौंमा नयाँ हुनुहुन्छ', प्रमुख गिरिले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.