|

काठमाडौं : पुस १६ मा नेपाली फिल्म 'कठपुतली' प्रदर्शनमा आएपछि निर्माता र यस क्षेत्रसँग जोडिएका सबै व्यक्तिले राहतको स्वास फेरे। झण्डै दुई वर्ष ठप्प रहेको नेपाली फिल्म उद्योगमा कठपुतलीको प्रदर्शनले एउटा आशा जगायो। तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिन थालेपछि यतिवेला नेपाली फिल्म उद्योगमा अर्को खतराको संकेत गरिरहेको छ। 

सामान्य अवस्थामा पनि नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्नु भन्दा पहिले त्यो मितिमा अन्य ठूला विदेशी फिल्म आउँदै त छैनन् भनेर विचार पुर्‍याउनुपर्ने बाध्यता थियो। तोकेको मिति नजिकै पुगेर विदेशी फिल्मका कारण नेपाली फिल्म सर्नुपरेको उदाहरण धेरै छन्। जसले नेपाली फिल्म उद्योग कहिल्यै आत्मनिर्भर थिएन भन्ने प्रष्ट पार्छ। 

विश्व सिनेमाकै लागि सबैभन्दा ठूलो चुनौती बनेको कोरोना भाइरसले नेपाली फिल्म उद्योगलाई पनि करोडौंको नोक्सान गरेको छ। दुई वर्षअघि पहिलोपटक देखिएको कोरोना भाइरसका कारण दुई पटक देश लकडाउनमा गइसकेको छ भने यसको नयाँ भेरियन्ट सबै क्षेत्रमा नयाँ खतरा बनेर आएको छ। 

केही महिनाको अन्तरालमै नयाँ भेरियन्टले जनजीवन अस्तव्यस्त बनाइरहेका वेला फिल्म प्रदर्शन गर्नको लागि अनुकुल समय पनि छोटिएको छ। कोरोना महामारी सुरु भएपछि नेपाली निर्मातालाई यही वर्षको पुस महिनादेखि फिल्म प्रदर्शन गर्न सकिन्छ भन्ने लाग्यो। पुस २ लाई यस क्षेत्रसँग सम्बन्धित सबैले चासोको रुपमा हेरेका थिए। जुन दिन लामो विश्रामपछि ठूलो ब्यानरको नेपाली फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आउँदै थियो। 

तर, सोही मितिमा दुई वटा बहुप्रतिक्षित विदेशी फिल्म प्रदर्शनमा आउने भएपछि अन्तिम समयमा आएर 'चपली हाइट ३' प्रदर्शन हुने समय सार्नुपर्‍याे। जुन शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। 

हलमा पहिलेको जस्तो चहलपहल हुन थालेका वेला कोरोनाको ओमिक्रोन लहर फर्कियो। कोरोनाको त्रासका कारण भारतका ठूला बजेटका फिल्मले आफ्नो प्रदर्शन रोके। 'आरआरआर', 'जर्सी', 'राधेश्याम' जस्ता फिल्म जसले हलमा नेपाली फिल्मको व्यापारलाई प्रत्यक्ष असर गर्न सक्थे, ती रोकिएपछि नेपाली निर्माता पनि केही ढुक्क भएका थिए। 

तर, पछिल्ला केही दिनमा नेपालमा पनि कोरोना संक्रमण दर उकालो लागेको छ। स्कुल, कलेज बन्द हुने क्रम बढेको छ भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाइसकेको छ। 

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले माघ ७ देखि ठूलो भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ भने, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। फिल्म हलको हकमा पनि यो लागू हुनेछ। 

हलमा यतिवेला नयाँ फिल्म छैनन्। प्रदर्शनमा आउने भनिएका विदेशी फिल्म रोकिएका छन्। नेपाली फिल्मको लागि एउटा खतरा त टरेको छ तर कोरोना अर्को ठूलो खतरा बनेर आएको छ। 

निर्माता तथा नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा कोभिड १९ व्यवस्थापन समितिले गरेको निर्णय पालना गर्दै, सजग हुँदै अघि बढ्नुपर्ने बताउँछन्। अहिले हल बन्द गरिहाल्नुपर्ने अवस्था भने नआएको उनको भनाइ छ। 

कोरोनाको बढ्दो संक्रमण दर र अनिवार्य खोप कार्ड बोक्नुपर्ने नियमले हलमा कस्तो असर गर्छ भन्ने कुरा भने 'चपली हाइट ३' को प्रदर्शनपछि थाहा लाग्नेछ। 

'चपली हाइट ३' शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। दुई विदेशी फिल्मको चेपुवामा परेर भाग्नु परेको 'चपली हाइट ३' ले एकल प्रदर्शन त पाएको छ तर अहिलेको अवस्थामा प्रदर्शन कस्तो रहन्छ भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.