|

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम पाँच वर्षमा जम्मा ३८ प्रतिशत मात्रै भएको छ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विं. स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भुबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको भनाइ छ। कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म दुई हजार २ सय मिटर मात्रै सुरुङ निर्माण सकिएको छ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ। सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ।

सुरुङ, विद्युतगृह र ड्यामसाईट निर्माणतर्फ अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ। बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ भने राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनमा जोड्न लुप इन लुप आउटको चारवटा टावरसमेत तयार पारिसकेको छ।

अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।

अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसैसातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरु गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रवन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भएपनि सम्झौता भएको सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालन भएको हो। विद्युतगृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनी प्रवन्ध सञ्चालक केसीले बताए।

अब एक वर्ष मात्रै बाँकी

३६ महिनाको अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब एक वर्ष मात्रै बाँकी छ। सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद र कोरोना (भाइरस) को महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ।

राहुघाट जलविद्युत आयोजनाकोको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रमा रहेका अधिकांश घरहरु चर्किएका छन्। हरेक दिन सुरुङभित्र गरिने विस्फोटन कम्पनले घरहरु चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयबासीको गुनासो छ। घरहरु चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दासमेत पुननिर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले स्थानीयबासी समस्यामा परेको स्थानीयबासी नारायण सुवेदीले बताए।

उनका अनुसार, अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न रु १ लाख ७५ हजार मात्रै रकम दिने र उक्त रकम अपुग हुने भएकाले स्थानीयबासीले चर्किएकै घरमा जोखिम मोलेर बस्नुपरेको छ। पिप्लेमा मात्रै १५ बढी घरहरु चर्किएका छन्। स्थानीयबासीले चर्किएका घरधनीलाई राहत, सडक र पदमार्ग व्यवस्थापनमा आयोजना र निर्माण कम्पनीले बेवास्ता गर्ने गरेको गुनासो समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.