|
इलामको सन्दकपुरमा भएको हिमपात

इलाम : इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ। यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो।

यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ। यस्तै‚ राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ।   

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ। यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ। हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ।

हिउँ परेपछि चिसो बढेको छ। हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ। 

उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ। तर‚ जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ। यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.