|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्ती (वैशाख)मा नै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने  दाबी गरेका छन्। 

विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा पुगेका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै यस्तो बताएका हुन्। ‘अब विमानस्थल सञ्चालनमा कुनै बिलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगाडि विमानस्थल सञ्चालनमा ल्याइने छौँ’, उनले भने।

निर्माण सुरु भएको सात वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ।

विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो।

उनले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिनुभयो।‘म यहाँबाट निर्देशन दिन्छु, विमानस्थल शीघ्र सञ्चालनमा आओस्, बुद्ध जयन्ती अगाडि नै नागरिकले विमानस्थल सञ्चालनमा आएको देख्न सक्छन्’, मन्त्री आलेले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्रारष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एअर ट्राफिकको समस्या समाधान हुने उनको भनाइ छ।

विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिए।

परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताए।

अहिले ग्राउण्ड टेष्टको काम सुरु भएको छ।फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्ट्रिय गौरब आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.