|

काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार धेरै संक्रामक भनिए पनि गम्भीर असर नगर्ने बताइएको ओमिक्रोन भेरिएन्ट समुदायमा तीव्र गतिमा फैलिएको समयमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेको हो।

यता मन्त्रालयले पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण दर घट्दै गएको बताएको छ। कोरोनाविरुद्ध खोप अभियान जारी रहेको भएपनि डेल्टा भेरिएन्टसमेत अझै समुदायमा रहेको र सबै नेपालीले कोरोनाविरुद्ध खोप नलगाएकाले मृत्यु हुनेको संख्या बढेको बताइन्छ।

कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढेको छ। कोरोनाको पहिलो र दोस्रो लहर कम हुँदै गएपछि शून्यमा झरिसकेको मृतक संख्या हाल दैनिक १० भन्दा माथि पुगेको छ। माघको दोस्रो साताबाट संक्रमण दर घटिरहँदा मृतक संख्या बढ्दो छ।

तेस्रो लहर शुरु भएयता २४२ जनाको मृत्यु

मन्त्रालयको विवरणअनुसार कोरोनाको तेस्रो लहर पुस २१ गते शुरु भएको देखिन्छ। तेस्रो लहर शुरु भएपछि हालसम्म २ सय ४२ जना (आज मंगलबारसमेतको गरि) कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

गत माघ १५ गते ६ जना संक्रमितको मृत्यु भएकोमा माघ १६ गते ३२ जनाको मृत्यु भएको थियो।

यसैगरी माघ १७ गते ८ जना, १८ गते ९ जना, १९ गते १२ जना, २० गते १४ जना र २१ गते १६ जना संक्रमितको मृत्यु भएको थियो। माघ २२ गते ९ जना, २३ गते ११ जना, २४ गते १३ जना र २५ गते ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

घट्दै संक्रमणदर बढ्दै मृत्यु

पछिल्लो साता कोरोना संक्रमणको दर ओरालो लाग्दै गएको छ तापनि अस्पतालमा जटिल अवस्थाका संक्रमितको संख्या घट्न सकेको छैन।

कोरोना संक्रमणको तेस्रो लहरमा (ओमिक्रोन भेरिएन्ट फैलिएपछि) माघ ८ गते सबैभन्दा बढी संक्रमणदर ५० दशमलव ८ प्रतिशत पुगेको थियो। त्यसपछि विस्तारै ओरालो लागेको संक्रमण दर हाल १३ प्रतिशत छ।

विश्व स्वास्थ्य संगठनले ५ प्रतिशतभन्दा थोरै संक्रमण दरलाई मात्र सामान्य मान्न सकिने बताउने गरेको छ। यसले गर्दा नेपालमा अझै पनि कोरोना संक्रमण जोखिम घटेको भन्न नमिल्ने जनस्वास्थ्यविदहरू बताउँछन्।

मृत्यु हुने संक्रमितमा दीर्घरोगी र ज्येष्ठ नागरिक धेरै

मृत्यु भएका कोरोना संक्रमितमध्ये धेरै ज्येष्ठ नागरिक र दीर्घरोगी रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। ‘रोगप्रतिरोधी क्षमता ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा न्यून हुन्छ, कोरोना संक्रमण भएपछि उनीहरूलाई गाह्रो हुन सक्छ, अहिलेको अवस्थामा पनि हामीले त्यही देखेका छौँ, हाल मृत्यु भएकाहरूमध्ये ज्येष्ठ नागरिक र दीर्घरोगीहरू धेरै छनु,’ उनले भने।

यस्तै हाल मृत्यु हुनेहरूमा पूर्ण खोप नलगाएका तथा खोप लगाए पनि एन्टिबडी नबनेका संक्रमितहरू भएको समेत उनले बताए।

‘खोप नलगाएका वा पूर्ण खोप नलगाएका र खोप लगाएर पनि एन्टिबडी नबनेकाहरूको पनि अहिले मृत्यु भएको छ,’ उनले भने। हाल समुदायमा डेल्टा भेरिएन्ट पनि रहेको हुँदा मृत्यु भएकाहरू ओमिक्रोन वा डेल्टा भेरिएन्ट कुन भेरिएन्टबाट धेरैको मृत्यु भयो भनेर नछुट्याइएको समेत उनले बताए।

देशभरि २५६ जना आइसियू र ३८ जना भेन्टिलेटरमा

यस्तै मन्त्रालयको विवरणअनुसार हाल देशभरि २ सय ५६ जना संक्रमित आइसियू र ३८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। यसमध्ये काठमाडौं उपत्यकामा ५ जना भेन्टिलेटरमा र १ सय १७ जना आइसियूमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.