श्रममन्त्रीको आश्वासन मात्रै, अवस्था उस्तै

|

काठमाडौं : रुपन्देही घर भएका नैम अली कोरानाको पहिलो चरणमा वैदेशिक रोजगारी (कतार)बाट नेपाल फर्किए।

नेपालमै केही गर्ने सोचले स्वदेश फर्किएका अली रोजगारीका लागि निकै लामो समय भौतारिए। स्वदेशमा आफूले भने अनुसारको काम नपाएपछि उनले फेरि वैदेशिक रोजगारीमै जाने सोच बनाए। 

त्यही क्रममा उनी  वैदेशिक रोजगारीको तयारी गर्नका लागि रुपन्देहीबाट काठमाडौं आए। काठमाडौको सिनामंगलस्थित मोन्टेज ओभरसिज प्रालिबाट विदेश जाने प्रक्रिया अगाडि बढाए। नेपालबाट (श्रम स्वीकृति) सम्पूर्ण प्रक्रिया पूरा गरी वर्किङ भिसामा साउदीका लागि उडे। राम्रो कमाइ हुने आसले  पुसको पहिलो साता विदेश उडेका अली यतिबेला साउदी अरबमा अलपत्र परेका छन्।

प्रालिले भिजुवान लोजेष्टिक कम्पनीमा प्लम्बरलगायत विभिन्न काममा उनीहरूलाई पठाएको थियो। उनीहरूले म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाखसम्म बुझाएर त्यहाँ पुगेका थिए।

अलीले साउदी जान उनले म्यानपावरलाई १ लाख ६० हजार बुझाएका थिए। कोरोना परीक्षण, विदेश जाने अन्य प्रक्रिया पूरा गर्दा करिब २ लाख खर्च भएको अलीले बताए। साउदी पुगेको पनि दुई महिना बितिसक्दा पनि रोजगारी पाउन सकेका छैनन्। 

भिडियो :

 

'नेपालबाट आएको दुई महिना बित्यो। खाने बस्ने व्यवस्था केही छैन। काम गर्न पनि पाइएको छैन। कम्पनीले हामीलाई बन्द कोठामा राखिदिएको छ। भाइवर / ह्‍वाटस्अपमा थाहा खबरसँग कुरा गर्दै अलीले भने, ‘कम्पनीले १ किलो दाल, एककिलो चामल दिएको छ। ४७ जना छौँ कति खाने?’ 

अलपत्र परेका ४५ जना मोन्टेजओभरसिजबाट गएका छन् भने अन्य कान्तिपुर, स्काईबाट गएका कामदार अलपत्र परेको उनले सुनाए। उनीहरूले न रोजगारी पाउन सके न स्वदेश फर्कनै पाए। यतिबेला उनीसँगै रहेका ४७ जना नेपाली  स्वदेश फर्कन चाहन्छन्।

'एकातिर काम  नपाएर बन्द कोठामा थुनिनुपरेको छ भने अर्कातिर विदेश जानका लागि साहुसँग लिएको ऋणमा ब्याज थपिएको छ' अली भन्छन्,‘ खाने बस्ने टुंगो छैन कम्पनीले काममा लगाउने वास्ता गर्दैन। यही बन्द कोठामा मर्नुपर्ने अवस्था आयो।’ उनले थपे,‘मर्नै परे पनि स्वदेश फर्कन पाए हुन्थ्यो।’

नेपालको विमानस्थलबाट विदेशका लागि उड्दा देखेका सपना साउदी पुग्दा ओइलाएको उनले सुनाए। उनी भन्छन्,‘कम्पनीले हामीलाई  कि काममा लगाउनुपर्‍यो कि नेपाल फर्काउनुपर्‍यो।’

सोचेभन्दा बढी दु:ख पाएँ

उनीसँगै रुपन्देहीका महादेश कहर पनि यतिबेला साउदी पुगेका छन्। कम्पनीले काममा नलगाएपछि अलपत्र पर्ने अवस्था आएको कहर बताउँछन्। नेपालमा खान नपुग्ने अवस्था थियो। विदेश गएर परिवारलाई सुखले पाल्ने रहर थियो। उनले भने,‘परिवारलाई सुख दिने कल्पना गरेर साउदी आएको आफैँले सोचेभन्दा बढी दु:ख पाएँ।’

साउदीमा अलपत्र परेको भिडियो बनाएर बुधबार सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै म्यानपावर कम्पनीले उद्धार गर्न आश्वासन दिएको अलीले सुनाए। त्यस्तै, कम्पनीले बिहीबार २० जना कामदारलाई काम लगाउने भन्दै बोलाएको उनले सुनाए।

 यसरी वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका अधिकांश नेपाली अलपत्र पर्ने गरेका छन्। सरकारले विदेशमा अलपत्र परेका कामदारलाई उद्धार  गर्दै आएको बताए पनि प्रभावकारी देखिएको छैन। 

म्यानपावरले किन यसरी कामदारहरूलाई पठाएर अलपत्र पारेर छाडेको भन्‍ने विषयमा थाहाखबरले मोन्टेज र कान्तिपुर, स्काई ओभरसिजमा कैयौँपटक फोन सम्पर्क गर्दासमेत रिसिभ भएन।

मन्त्रीको आश्वासन मात्रै, अवस्था उस्तै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले  वैदेशिक रोजगारीमा जाने युवाको समस्या समाधान गर्ने बताउँदै आएका छन् तर अवस्था उनले भने जस्तो सहज छैन।

पछिल्लो समय वैदेशिक रोजगारीमा ४० हजार नेपाली रहको आँकलन छ। यसरी वैदेशिक रोजगारीमा जाने नेपाली कुनै न कुनै रूपले समस्या भोग्दै आएका छन्।

सरकारले तोकेभन्दा बढी शुल्क तिर्ने, भनेअनुसारको काम नपाउने,तलब सेवा कम हुने,अलपत्र पर्ने लगायतका समस्या रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.