|

दाङ : बाँकेमा प्रहरीले स्वचालित पेस्तोलसहित ३ जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज-१८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका-३ का द्वारिका उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेको डुडुवा गाउँपालिका-४ राप्ती पुलनजिक मंगलबार राति ९ बजेतिर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए। उनका अनुसार राप्ती पुलनजिक गोली चलेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगञ्जदेखि राप्ती पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर जाँच गर्ने क्रममा मेड इन युएस लेखेको अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा लोड भएका ७ थान गोली बरामद भएको थियो।

गाडीबाट खुँडा एक थान र नक २ थानसमेत बरामद भएको जानकारी उनले दिए। खुँडा केसीको र नक अधिकारीको रहेको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त पेस्तोल अधिकारीले ३ महिना पहिले भारत लखनउका अशरफ अलीसँग ११ राउण्ड गोलीसहित ५० हजार भारूमा खरिद गरेका थिए।

अधिकारी यसअघि पनि ‘ज्यान मार्ने मुद्दा, जबरजस्ती करणी प्रयास, लागुऔषध, चोरीलगायत विभिन्न घटनामा संलग्न रहे‍काले पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्दै आएका थिए। ०७७ साल मंसिर ११ गते नेपालगन्ज-२ बागेश्वरी मन्दिरनजिक बस्ने सहर्षविक्रम शाहलाई खुकुरी प्रहार गरेपछि शाहले दिएको जाहेरीअनुसार उनी ज्यान मार्ने  मुद्दाका फरार रहेकोसमेत प्रवक्ता न्यौपानेले जानकारी दिए।

उनीहरू तीनैजना राप्ती पारीको जग्गा हेर्न बेलुकी नेपालगन्जबाट निस्किएका र त्यही क्रममा अधिकारीले पेस्तोलमा गोली लोड गरी २ राउन्ड फायर गरेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को उपदफा १३० अनुसार उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.