|

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट शंकास्पद नोट फेला परेका छन्।

करिब दुई साताअघि जलविद्युत् आयोजनाको पिप्लेस्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुईवटा नेपाली एक हजारका नोट नक्कली भएको पाइएपछि त्यहाँ कार्यरत मजदुरहरुमार्फत नक्कली नोटहरू गाउँगाउँमा पुगेका हुनसक्ने आशंका गरिएको छ।

पसलमा लगेका दुवै नोटलाई सदरमुकाम बेनीमा ल्याएर एक वित्तीय संस्थामा परीक्षण गर्दा उक्त नोट सक्कली नभएको र शंकास्पद भएको पुष्टि भएको थियो।

दुवै नोट बाक्लो साइज र खस्रो भएपछि स्थानीयले बेनीमा ल्याएर वित्तीय संस्थामा उक्त नोटलाई परीक्षण गराएका थिए। उक्त क्रममा दुवै नोट सक्कली नभएपछि जलविद्युतमा काम गर्ने मजदुरमार्फत गाउँमा ठूलो संख्यामा नक्कली नोट भित्रिएको हुनसक्ने त्रास बढेको छ।

प्रारम्भिक अनुसन्‍धानको क्रममा आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको बताइएको छ।

यस आयोजनाको सुरुङ निर्माणतर्फ अधिकांश भारतीय कामदार कार्यरत छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ।

स्थानीय चिन्तित

मजदुरबाट फेला परेका शंकास्पद मानिएका नक्कली नोटले स्थानीयबासी चिन्तित बनेका छन्, पसलमा लगेका दुईवटै नोट नक्कली हुनुले कतै ठूलै संख्यामा गाउँमा नक्कली नोटको बिगबिगी त भएको छैन? भन्ने कुराले आफूहरूलाई गम्भीर बनाएको स्थानीयबासी नारायण सुवेदीले बताए।

उनले भने, ‘सुनियोजित रूपमै नक्कली नोट फिँजाइएको हुन सक्छ, यस विषयमा गम्भीर छानविन गरी दोषिमाथि कारबाही नक्कली नोट नियन्त्रण गर्न सम्बन्धित सरोकारवालाको ध्यान जानु जरुरी छ।’

०७४ को चुनावमा पनि म्याग्दीमा ठूलो मात्रामा नक्कली नोट फेला परेको थियो।  हाल फेला परेको नक्कली नोटबारे कतै उजुरी परेको नभए तापनि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.