|

काठमाडौं :  करिब दुई वर्षदेखि कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो क्षति बेहोरेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ। कोरोनाको तेस्रो लहरको प्रभाव न्यून भएसँगै पर्यटन क्षेत्रमा सुधार आउन थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

विदेशी पर्यटक देखिन थालेका छन् भने पर्यटन क्षेत्रमा बेरोजगार भएका श्रमिक पनि विस्तारै काममा फर्कन थालेका छन्। पर्यटन व्यवसायले कोरोनाको शुरुवाती चरणदेखि हालसम्म करिब २ खर्बको हाराहारी आर्थिक क्षति बेहोरेको छ। प्रतिमहिना करिब १० अर्बको क्षति भएको बोर्डको तथ्यांकले देखाउँछ। 

कोरोना अगाडिसम्म  पर्यटन व्यवसायमा २ लाख ७० हजार श्रमिक कार्यरत थिए। कोभिडका कारण झण्डै ८० प्रतिशत बेरोजगार भए। कोरोनाको प्रभाव कम भएसँगै पर्यटक आगमनमा झिनो सुधार देखिएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए। उनले भने, ‘कोरोना अगाडिको जस्तो  पर्यटकको चहलपहल  छैन तर सन् २०२२ को शुरुवातदेखि नै सुधारका संकेत देखिएका छन्।’

एक महिनामा २० हजार पर्यटक भित्रिए

सन् २०२२ को फेब्रुअरीमा २० हजार पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको सोही महिनामा  ९ हजार १ सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। सन् २०२२ को पहिलो महिना अर्थात जनवरीमा १६ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

बोर्डका अनुसार २ महिनामा कुल ३६ हजार पर्यटक आएका छन्। एक महिनामा भारतबाट ५ हजार ९ सय ९८ जना आएका छन्। अमेरिकाबाट ३ हजार ६ सय १४ जना आएका छन्। बेलायतबाट २ हजार २ सय १७ जना पर्यटक नेपाल भ्रमणका लागि आएको बोर्डको तथ्यांक छ। त्यसैगरि अष्ट्रेलियाबाट १ हजार ५२ जना आएका छन्।

रुसबाट १ सय ४७ जना मात्र आएको बोर्डको तथ्यांकमा छ। चीनले पर्यटकलाई भ्रमणमा जान खुला नगरेका कारण  चिनियाँको संख्या कम भएको बोर्डले जनाएको छ। यस अवधिमा मात्र २ सय ५ जना चिनियाँ आएका थिए।

बंगलादेशबाट ८ सय ८८ जना नेपाल आएका छन्। युरोपमा बेलायतपछि जर्मनीबाट ६ सय ४२, फ्रान्सबाट ५ सय २९, नेदरल्याण्डबाट २ सय ५२, स्पेनबाट १ सय ८० र बेल्जियमबाट १ सय ७९ जना आएको तथ्यांकले देखाएको छ। 

कुन वर्षमा कति पर्यटक आए?

बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी भ्रमणका लागि नेपाल आएका थिए। कोरोना भाइरसको चपेटामा परेसँगै सन् २०२० मा पर्यटकको संख्यामा कमी आयो। सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने योजनासहित भ्रमण वर्ष घोषणा गरेको थियो। कोरोनाका कारण सो योजना स्थगित भयो भने पर्यटकको संख्या पनि २ हजार ३ सय ८५ मा झर्‍यो।

त्यस्तै कोरोनाको जोखिम कायमै रहेकाले सन् २०२१ मा पनि पर्यटक आउन सकेनन्। सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्नुका साथै क्वारेन्टाइनको व्यवस्था गरेको थियो। सोही कारण विदेशी नेपाल घुम्न आउन नसकेको बोर्डको भनाइ छ। सो अवधिमा १ हजार ५ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.